त्रिकोणात्मक टी ट्वान्टीमा नेपालले मलेसियालाई ६९ रनले हरायो

काठमाडौं, बैशाख ९ ।काठमाडौंमा जारी त्रिकोणात्मक टी ट्वान्टी प्रतियोगितामा लिग खेलको नेपाल विजेता हुँदै फाइनलमा पुगेको छ ।

 

नेपालले मलेसियालाई लिगको अन्तिम खेलमा ६९ रनले हराएको छ । शनिबार हुने फाइनल खेलमा नेपालले नेदरल्याण्ड्सको सामना गर्नेछ ।

मलेसिया विरुद्धको खेल अघि नै फाइनलमा स्थान सुनिश्चित गरिसकेको नेपालले लिगको अन्तिम खेलमा मलेसियालाई हराएको हो । नेपालले चार खेलबाट छ अङ्क जोडेको छ ।

 

लिगमा नेदरल्याण्ड्स विरुद्धको एक खेलमा हार बेहोरेपनि पहिलो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटलाई हराएको नेपालले मलेसिया विरुद्धको दुबै खेल जितेको हो ।

 

नेपालले प्रस्तुत गरेको २१८ रनको लक्ष्य पछ्याउँदै मलेसियाले १९ ओभर एक बलमा मात्र १४८ रन जोडन सक्यो । विशाल लक्ष्य पछ्याउने क्रममा १५ रनमै दुई विकेट गुमाएको मलेसियाले खेलमा फर्कन सकेन ।

 

मलेसियाको पारीमा अमीनुद्दीन राम्लेले मात्र १८ बलमा एक चौका र दुई छक्का लगाएर सर्बाधिक ४१ रनको योगदान दिए पनि जितका लागि पर्याप्त भएन ।

 

कप्तान अहमद फैजले दोस्रो सर्बाधिक ३१ रन बनाउनुभयो । उहाँले २१ बलको सामना गर्दा चार चौका र एक छक्का लगाउनुभयो ।

नेपालको बलिङमा सोमपाल कामी, सन्दीप लामिछाने र कमलसिंह ऐरीले सामान तीन तीन विकेट लिनुभयो । सन्दीपले चार ओभरमा ४२ रन खर्चिनुभयो ।

 

सोमपालले चार ओभरमा २० रन खर्चिदा कमल ऐरीले तीन ओभर एक बलमा १६ रन खर्चिनुभयो । सुशन भारीले तीन ओभरमा ३५ रन खर्चेर एक विकेट लिनुभयो ।

 

करण केसी विकेटविहीन बन्न पुग्नुभयो । दीपेन्द्रसिंह ऐरीले एक ओभर बलिङ गर्दा सात रन खर्चेपनि कुनै विकेट लिन सक्नुभएन ।

 

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा नेपालले पुरा २० ओभर खेलेर सात विकेटको क्षतिमा २१७ रनको योगफल तयार गरेको थियो ।

 

ओपनर आशिफ शेष, कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी र करण केसीले विष्फोटक पारी खेलेपछि नेपालले विशाल योगफल तयार गर्न सफल भयो ।

 

 

यसअघि नेपालले नेदरल्याण्ड्स विरुद्धको खेलमा २०६ रन बनाएर दोस्रो सर्वाधिक योगफलको कीर्तिमान बनाएको थियो । तर उक्त खेल नेपालले तीन विकेटले हार्न पुग्यो ।

 

नेपालको पारीमा ओपनर शेषले मात्र ३२ बलमा तीन चौका र तीन छक्कासहित ४२ रन बनाउनुभयो । कप्तान ज्ञानेन्द्र मल्लले २५ बलमा एक चौका र चार छक्काको सहयोगमा ४१ रन तथा दीपेन्द्रसिंह ऐरीले १७ बलमा ३३ रनको योगदान दिनुभयो ।

 

 

करण केसीले मात्र १३ बलमा सात छक्कासहित ४५ रनको पारी खेलेपछि नेपालले उत्कृष्ट अन्त्य दिन सफल भयो । कुशल मल्ल दश बलमा १९ रन बनाएर अविजित रहनुभयो ।

 

मलेसियाका लागि फित्री शाम, अनवर रहमान र सैएद अजिजले सामान दुई दुई विकेट लिनुभयो । मुहम्मद वफिकले एक विकेट लिनुभयो ।