कर्णाली प्रदेश अस्पतालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं,बैशाख १७ । कर्णाली प्रदेश अस्पतालमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अस्पतालमा कोरोना उपचार गराइरहेका पञ्चपुरी नगरपालिका ५ का ६० वर्षीय पुरूषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक पुरूषको साँझ ६ बजेर ५३ मिनेटमा मृत्यु भएको हो ।

 

यस्तै, कोरोना संक्रमणकै कारण लेकबेसी नगरपालिका १ का ५४ वर्षीय पुरूषको मृत्यु भएको छ । उनको उपचारका लागि प्रदेश अस्पताल ल्याउँदैगर्दा बाटोमै मृत्यु भएको डाक्टर पौडेलले जानकारी दिनुभयो।

 

 

योसँगै बिहीबार प्रदेश अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । बिहान मात्रै कालिकोटको नरहरिनाथ गाउँपालिकाका ७३ वर्षीय पुरूषको मृत्यु भएको थियो ।