भेरीमा अस्पताल नेपालगञ्जमा थपिए २२७ कोरोना सङ्क्रमित, थप तीन जनाको मृत्यु

बाँके,बैशाख १७। भेरी अस्पताल नेपालगञ्जमा शुक्रबार २२७ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।

 

बिहीबार अस्पतालको प्रयोगशालामा २१४ जना थपिएकामा शुक्रबार १३ जना बढी थपिएका हुन् । तीमध्ये १२८ पुरुष र ९९ महिला रहेको अस्पतालले जनाएको छ ।

 

सङ्क्रमण पुष्टि हुनेमध्ये बाँकेका सबैभन्दा बढी छन् भने नेपालगञ्ज उपमहानगरपालिकाका मात्रै करीब ५० प्रतिशत नयाँ सङ्क्रमित छन् ।

 

सङ्क्रमितको सङ्ख्या बढेसँगै भेरी अस्पतालमा मृत्यु हुनेको सङ्ख्या पनि बढ्न थालेको छ । अस्पतालका अनुसार गए राति थप तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

 

मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–७ की ५७ वर्षीया महिला, बढैयाताल गाउँपालिका–७ बर्दियाकी ४७ वर्षीया महिला र गोदावरी नगरपालिका–११ कैलालीका ६२ वर्षीय पुरुष रहेका छन् ।

 

बिहीबार बाँकेका अस्पतालमा उपचार गराइरहेका कोरोना सङ्क्रमितमध्ये १२ जनाको मृत्यु भएको थियो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज वलीका अनुसार बाँकेका नौ, कैलालीका दुई र बर्दियाका एक जनाको मृत्यु भएको हो ।रासस,