क्रान्तिकारी माओवादीका महासचिव किरणद्वारा १३२ औँ मई दिवस र पेरिस कम्युनको १५० वर्षको ऐतिहासिक सन्दर्भमा अन्तर्राष्ट्रिय महत्वको प्रेस–वक्तव्य जारी

फाइल फाेटाे

काठमाडौं,बैशाख १८ । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी ले १३२औँ मई दिवस र पेरिस कम्युनको १५० वर्षको ऐतिहासिक सन्दर्भमा अन्तर्राष्ट्रिय महत्वको वक्तव्य जारी गरेको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले जारी गर्नुभएको प्रेस वक्तव्यमा नेपाल लगायत संसारभरिका सम्पूर्ण श्रमजीवी वर्गमा हार्दिक शुभकामना सहित क्रान्तिकारी अभिवादन व्यक्त गरिएको छ र विश्वका आम उत्पीडित जनसमुदायको मुक्तिका खातिर जीवनको बलिदान गर्ने सम्पूर्ण योद्धाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।

 

कोभिडका कारण विश्वभर श्रम र पुँजीबीचको अन्तरविरोध विष्फोटक बन्दै गएको उल्लेख गर्दै वक्तव्यमा आगामी दिन विश्व साम्राज्यवादका विरुद्ध सर्वहारा क्रान्तिको युग भएर गुज्रने आँकलन समेत गरिएको छ ।

 

वक्तव्यमा साम्राज्यवादलाई परास्त गर्ने एक मात्र उपाय विश्व समाजवादी क्रान्ति रहेको उल्लेख गर्दै भूमण्डलीकृत साम्राज्यवादको वर्तमान युगमा, समाजवादको विश्वव्यापी विजयका लागि मात्र होइन कुनै पनि देशको सर्वहारा क्रान्तिको विजयका लागि पनि अन्तर्राष्ट्रिय कामको महत्व पहिले भन्दा निकै बढेर गएको छ ठहर गरिएको छ ।

 

वक्तव्यमा भनिएको छ, “त्यसका लागि विश्वका सच्चा क्रान्तिकारीहरुका सामु छिट्टै पुरा गर्नु पर्ने दुईवटा अन्तर्राष्ट्रिय कार्यभार रहेका छन् । ती हुन् : एक, मालेमावादको वैचारिक निर्देशनमा एउटा अन्तर्राष्ट्रिय सङ्गठनको निर्माण र दुई, साम्राज्यवाद विरोधी संयुक्त मोर्चाको गठन ।

 

वक्तव्यमा अगाडि भनिएको छ, १३२औँ मई दिवस र पेरिस कम्युनको १५० वर्षको ऐतिहासिक सन्दर्भमा हाम्रो पार्र्टी नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी माओवादी०ले उपरोक्त दुई अन्तर्राष्ट्रिय कार्यभार सफल पार्नका लागि एकताबद्ध भएर अगाडि बढ्न विश्वभरि छरिएर रहेका सम्पूर्ण माक्र्सवादी–लेनिनवादी–माओवादी कम्युनिस्ट पार्टीहरुलाई हार्दिक अपील गर्दछ ।

मई दिवको पूर्वसन्ध्या अर्थात् १७ बैशाखमा जारी गरिएको वक्तव्यको अन्तमा सातवटा अन्तर्राष्ट्रिय महत्वका नाराहरु उल्लेख गरिएको छ । ती ‘मई दिवस जिन्दावाद १, पेरिस कम्युन जिन्दावाद १, सर्वहारा अन्तर्राष्ट्रियतावाद जिन्दावाद १, विश्व समाजवादी क्रान्ति जिन्दावाद १, सबै खाले संशोधनवाद मुर्दावाद १, साम्राज्यवाद तथा विस्तारवाद मुर्दावाद १, संसारका मजदुरहरु एक होऔं १’ लगायत रहेका छन् ।

यस्तो छ अन्तर्राष्ट्रिय महत्वको प्रेस वक्तव्यको पूर्णपाठ 

“मई १, २०२१ तदनुसार बैशाख १८, २०७८ सम्पूर्ण श्रमजीवी जनता र विशेषतः अन्तर्राष्ट्रिय सर्वहारा वर्गको ऐतिहासिक पर्व हो । यो वर्षको मई दिवस विश्व सर्वहारा वर्गको एउटा टुकडीले फ्रान्समा स्थापना गरेको इतिहासको सबैभन्दा पहिलो सर्वहारा वर्गीय राज्यसत्ता पेरिस कम्युनकोे १५०औँ वर्षको पूर्वसन्ध्यामा पर्न गएको छ । मई दिवसको १३२औं वर्ष प्रवेशको यस विशेष अवसरमा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी माओवादी०ले नेपाल लगायत संसारभरिका सम्पूर्ण श्रमजीवी वर्गमा हार्दिक शुभकामना सहित क्रान्तिकारी अभिवादन व्यक्त गर्दछ र विश्वका आम उत्पीडित जनसमुदायको मुक्तिका खातिर जीवनको वलिदान गर्ने सम्पूर्ण योद्धाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

साम्राज्यवाद यति बेला विश्वभरि भयानक आर्थिक सङ्कटका बीचबाट गुज्रिरहेको छ । पुँजीवादी लुटेराहरुले यो सङ्कटको भारी श्रमजीवी वर्गको काँधमा बिसाउन शोषण तथा उत्पीडनका विभिन्न रुपहरु प्रयोग गर्दै आएका छन् । करिब दुई वर्ष अगाडिदेखि नै विष्फोटनको मुखैमा पुगेको विश्वको अर्थतन्त्र कोभिड–१९को महामारी पछि भयावह सङ्कटमा फसेको छ ।

 

लकडाउनका कारण सङ्गठित र असङ्गठित क्षेत्रमा कामगर्ने करोडौँ श्रमजीवी जनताहरु विहान–बेलुकाको हातमुख जोर्ने समस्यामा बल्झिएका छन् भने यसै बीचमा मुठ्ठीभर बहुराष्ट्रिय कम्पनीहरुले खोप उत्पादन लगायतका विभिन्न आर्थिक व्यवसायहरुबाट अत्यधिक मुनाफा आर्जन गरेका छन् । परिणामतः समाजको सबभन्दा माथिल्लो र तल्लो तहका जनताका बीचको आर्थिक खाडल झन–झन फराकिलो बन्दै गएको छ । यो समग्र परिस्थितिका कारण श्रम र पुँजीका बीचको अन्तर्विरोध विश्वभरि नै र विकसित साम्राज्यवादी देशहरुमा झन बढी चर्किन गएको छ ।

पुँजीवादको चक्रिय सङ्कटका कारण पैदा हुने आर्थिक क्षतिलाई परिपूर्ति गर्न साम्राज्यवादले अल्पविकसित मुलुकहरुमाथि नव–औपनिवेशिक शोषणको विधि अपनाउँदै आएको छ । नवउदारवादी भूमण्डलीकरण र निजीकरणका कारण उत्पीडित राष्ट्रहरु बहुराष्ट्रिय कम्पनीले थापेको जालमा फस्दै आएका छन् । घरेलु कठपुतली शासकवर्गले बहुराष्ट्रिय कम्पनीहरुलाई देशको सम्पदा र सस्तो श्रममाथि अनियन्त्रित लुट गर्ने निम्तो दिएर आम जनतालाई असह्य पीडा र चरम गरिवीतर्फ धकेलिरहेको छ । वर्तमान विश्वको प्रधान अन्तर्विरोधका रुपमा रहेको साम्राज्यवाद र उत्पीडित राष्ट्र तथा जनताका बीचको अन्तर्विरोध यति बेला विष्फोटक बन्दै गएको छ ।

अर्कोतिर, साम्राज्यवादी शक्ति केन्द्रहरु अत्यधिक मुनाफा आर्जन गर्नका लागि आफ्नो शोषणको क्षेत्र विस्तार गर्न पहिले भन्दा चर्को प्रतिस्पद्र्धा गरिरहेका छन् । दक्षिण चीन सागर, ताइवान र मध्यपूर्व लगायतका क्षेत्रमा चीन र अमेरिकाका बीचको अन्तर्विरोध चर्किएको छ र विश्व मुख्यतः रुसी–चिनी धुरी र अमेरिकी धुरीमा ध्रुविकृत हुँदै गएको छ । अमेरिका र चीनका बीचमा चलेको व्यापार युद्ध प्रत्यक्ष सैन्य युद्धमा बदलिन सक्ने संभावना बढ्रदै गएको बारे स्वयम् साम्राज्यवादी प्रबुद्ध वर्गले नै बताउन थालेका छन् । कुनै न कुनै क्षेत्रबाट युद्ध भडकिए त्यसले तेस्रो विश्वयुद्धको रुप लिन सक्ने खतरा बढेर गएको छ ।

यसरी विश्वका सबै आधारभूत अन्तर्विरोधहरु कोभिड–१९ महामारी पछि झन विष्फोटक बन्दै गएका छन् । महामारी नियन्त्रण भए पनि साम्राज्यवादले आर्थिक तथा राजनीतिक सङ्कट समाधान गर्न सक्तैन । बरु यो सङ्कट अझ गहिरिने निश्चित छ । यो उत्पीडित देशहरुका लागि मात्र होइन साम्राज्यवादी देशहरुका लागि पनि त्यत्तिकै सत्य हो । यसरी आउने दिनहरु जताततै स्वतस्फूर्त आन्दोलन र विद्रोहका दिन हुने छन् । यो सर्वहारा क्रान्तिको विकासका लागि अत्यन्त अनुकूल परिस्थिति हो ।

नेपालमा राजनीतिक र आर्थिक सङ्कट गहिरिएर गएको छ । संसदीय व्यवस्था, त्यसको संरक्षण गर्ने प्रतिक्रियावादी सत्ता र कथित लोकतन्त्रवादी राजनीतिक पार्टीहरु मात्र होइन कम्युनिस्ट नामधारी संशोधनवादी पार्टीहरु पनि असफल सावित भएका छन् । करिब दुई तिहाईको दम्भका साथ बनेको कथित कम्युनिस्ट सरकार सत्ता र सुविधाको भागबन्डा नमिलेर अहिले तहस नहस भएको छ । नवउदारवादी नीतिको आडमा अगाडि सारिएको नारा “सुखी नेपाली र समृद्ध नेपाल” साम्राज्यवादलाई पोस्ने र जनतालाई चुस्ने हतियार सावित भएको छ । जनताले विकल्पको खोजीगर्न थालेका छन् । नयाँ जनवादी क्रान्ति नेपालका लागि वस्तुगत आवश्यकता बनिसकेको छ ।

अहिले विश्व भूमण्डलीकृत छ र शासकहरु आफ्नो वर्गको स्वार्थको रक्षाका निमित्त पहिले भन्दा बलियो गरी एकताबद्ध हुँदै आएका छन् । क्रान्तिकारी आन्दोलन जहाँबाट सुरु भए पनि त्यसलाई कलिलोमै निमोठेर आजसम्म आफ्नो लुटको स्वर्ग बचाउन उनीहरु सफल भएका छन् । यति बेला अन्तर्राष्ट्रियतावादी सर्वहारा वर्ग सबैभन्दा असङ्गठित र विचारले कमजोर अवस्थामा छ ।

 

उपरोक्त विश्व परिस्थितिलाई सम्हाल्न र क्रान्तिकारी सङ्घर्षको विकास गर्नका लागि माक्र्सवाद–लेनिनवाद–माओवादको निर्देशनमा सचेत र योजनाबद्ध ढङ्गले अगाडि बढनु बाहेक क्रान्तिकारी कम्युनिस्टहरुसँग अर्को विकल्प छैन ।

आ-आफ्ना देशमा सङ्गठित हुनु र साम्राज्यवादी तथा तिनका दलालहरुले थोपरेको शोषण एवम् उत्पीडनको प्रतिरोध गर्नु नै यो स्थितिलाई बदल्ने एकमात्र विधि हो । साम्राज्यवादी उत्पीडनबाट मुक्त हुने यो बाहेक अर्को बाटो छैन ।

साम्राज्यवादलाई परास्त गर्ने एक मात्र उपाय विश्व समाजवादी क्रान्ति हो । भूमण्डलीकृत साम्राज्यवादको वर्तमान युगमा, समाजवादको विश्वव्यापी विजयका लागि मात्र होइन कुनै पनि देशको सर्वहारा क्रान्तिको विजयका लागि पनि अन्तर्राष्ट्रिय कामको महत्व पहिले भन्दा निकै बढेर गएको छ ।

 

त्यसका लागि विश्वका सच्चा क्रान्तिकारीहरुका सामु छिट्टै पुरा गर्नु पर्ने दुईवटा अन्तर्राष्ट्रिय कार्यभार रहेका छन् । ती हुन् : एक, मालेमावादको वैचारिक निर्देशनमा एउटा अन्तर्राष्ट्रिय सङ्गठनको निर्माण र दुई, साम्राज्यवाद विरोधी संयुक्त मोर्चाको गठन ।

१३२औँ मई दिवस र पेरिस कम्युनको १५० वर्षको ऐतिहासिक सन्दर्भमा हाम्रो पार्र्टी नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी माओवादी०ले उपरोक्त दुई अन्तर्राष्ट्रिय कार्यभार सफल पार्नका लागि एकताबद्ध भएर अगाडि बढ्न विश्वभरि छरिएर रहेका सम्पूर्ण माक्र्सवादी–लेनिनवादी–माओवादी कम्युनिस्ट पार्टीहरुलाई हार्दिक अपील गर्दछ ।

मई दिवस जिन्दावाद !

पेरिस कम्युन जिन्दावाद !

सर्वहारा अन्तर्राष्ट्रियतावाद जिन्दावाद !

विश्व समाजवादी क्रान्ति जिन्दावाद !

सबै खाले संशोधनवाद मुर्दावाद !

साम्राज्यवाद तथा विस्तारवाद मुर्दावाद !

संसारका मजदुरहरु एक होऔं !

मिति : बैशाख १७, २०७८

किरण
महासचिव
नेकपा (क्रान्तिकारी माओवादी)