गएरातिदेखि आन्तरिक उडान सबै बन्द, २३ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडान बन्द हुने

काठमाडौं,बैशाख २१। सबै आन्तरिक उडानहरु गएरातिदेखि बन्द गरिएको छ । आगामी वैशाख २३ गते मध्यरातदेखि सबै अन्तर्राष्ट्रिय उडान पनि बन्द गर्ने निर्णय सरकारले गरेको छ ।

 

भारतसँगको उडान भने साताको दुईपटक हुनेछन् । यसरी भारत आवत जावत गर्ने यात्रुले स्वास्थ्य मापदण्डको पालना गरी पर्यटन मन्त्रालयले सूचीकृत गरेका होटलमा १० दिन अनिवार्य क्वारन्टिनमा बस्नु पर्नेछ ।

 

क्वारन्टिनमा बसे–नबसेको दैनिक अनुमगन गरी पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीको संयुक्त टोलीले कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रमा दैनिक प्रतिवेदन पेश गर्ने जनाइएको छ ।

 

होटल क्वारन्टिनमा बस्नुपर्ने यात्रुले स्वास्थ्य मापदण्ड पालना नगरेको र क्वारन्टिनमा नबसेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम मुकरर अधिकारीसमक्ष कारबाहीको लागि लेखी पठाउने छ।

 

कुनै पनि उडानमा पीसीआर पोजेटिभ भएका यात्रुलाई बोर्डिङ पास दिइ यात्रा गराएमा सो उडानका सबै यात्रुको क्ववारन्टिन खर्च सम्बन्धित एयरलाइन्सले व्यहोर्नु पर्नेछ ।

 

आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड तथा उद्धार उडानको हकमा भने स्वास्थ्य सुरक्षा गापदण्डको पूर्ण पालना हुने गरी पर्यटन मन्त्रालयले उडान अनुमति जारी गर्ने छ ।