कोरोना महामारीका कारण तनावमा गर्भवती,कसरी तनाव मुक्त हुने ?

काठमाडाैं,बैशाख २१ । कोरोना भाइरस सङ्क्रमणको दोस्रो भेरियन्टको सङ्क्रमण तीब्ररुपमा फैलिएपछि गर्भवती तथा सुत्केरी बढी तनाबमा देखिएका छन् ।

 

कोरोना सङ्क्रमण भइहालेमा घरमै आइसोलेशनमा बस्नेदेखि अस्पतालमा भर्ना हुने अवस्थाका अन्य व्यक्तिलाई भन्दा गर्भवती तथा सुत्केरीका लागि बढी जोखिम हुने हुँदा उनीहरु बढी नै चिन्तित बनेका हुन् ।

 

टीकापुरकी रमिला चौधरीको यही वैशाख २८ गतेको सुत्केरी हुने मिति अस्पतालले दिएको छ । टीकापुर अस्पतालमा नियमित गर्भ परीक्षण गरिरहेकी रमिला सुत्केरी हुने मिति नजिकिदै गर्दा निकै चिन्तामा हुनुहुन्छ ।

 

जागिरे रमिलालाई कार्यालयले कोरोना सङ्क्रमण बढेपछि बिदा मिलाइदिएको छ तर उहाँलाई अस्पतालसम्म कसरी जाने भन्ने चिन्ताले सताएको छ ।

 

आठ महिनामा भिडियो एक्सरे गर्दा डाक्टरले बच्चा उल्टो छ भन्नु भएको थियो । अस्पतालमा कोरोना सङ्क्रमणका धेरै बिरामी छन् ।

 

मलाई अस्पताल गए सङ्क्रमित भइन्छ कि भन्ने डर छ’’, रमिला भन्नुहुन्छ, ‘‘घरमा सुरक्षित छु, सामान्य हिसाबले बच्चा जन्मिए त हुन्थ्यो तर शल्यक्रिया गर्नुपर्ने हो कि भन्ने डर लागिरहेको छ ।उहाँ सुत्केरी हुने भन्दा पनि कोरोना सङ्क्रमण भइन्छ कि भन्ने चिन्ता लागेको बताउनुहुन्छ ।

 

टीकापुरकै रुपनी शर्माको पनि सुत्केरी मिति नजिकिएको छ । दोस्रो बच्चा पाउने मिति आइसक्दा रुपनी पनि कसरी अस्पताल जाने भन्ने चिन्तामा रहेको बताउनुहुन्छ ।

 

पहिलो बच्चा शल्यक्रिया गरी निकालिएको हो । शल्यक्रिया गर्दा एक साता बढी अस्पताल बस्नु परेको थियो, यस पटक के हुने हो भन्ने डर लागिरहेको छ’’, उहाँले भन्नुभयो, पहिलो बच्चा पनि सानो छ । कोरोना भन्ने कस्तो रोग आयो । आफ्नै मान्छे पनि नजीक आउन डराउनु पर्ने, अस्पताल जान पनि डर लाग्ने ।

 

कैलालीको जोशीपुरकी सन्ध्या विक पहिलो पटक गर्भवती हुनुभएको छ । सन्ध्याका श्रीमान् स्वास्थ्यकर्मी हुनुहुन्छ । श्रीमान् दिनभरि कार्यालयमा काम गर्नुहुन्छ, सन्ध्यालाई तनाब बढेको छ ।

 

गाउँमा ज्वरो आएका बिरामी बढेका छन् । म आठ महिनाकी गर्भवती छु । श्रीमान् बिरामीको उपचार गर्ने काम गर्नुहुन्छ’’, सन्ध्याले भन्नुभयो, ‘‘कुन दिन हामी पनि सङ्क्रमित हुन्छौँ भन्ने डरले सताएको छ ।

 

टीकापुर अस्पतालमा उपचारमा आउने तीन जना गर्भवतीलाई कोरोनाका लक्षण देखिएको छ । एक जना गर्भवती सङ्क्रमित भएर अस्पतालमै उपचार भइरहेको छ ।

 

गर्भ परीक्षण सेवा नियमित राखेको टीकापुर अस्पतालले यस साताबाट दुई साताका लागि बन्द गर्ने तयारी गरेको छ । ‘‘समुदायमा सङ्क्रमण फैलिएको छ ।

 

यस्तो बेला सुत्केरी र गर्भवती बढी सुरक्षित हुन आवश्यक छ’’, सिनियर स्टाफ नर्स कल्पना खड्काले भन्नुभयो, ‘‘सेवा नियमित भए पनि गर्भवतीहरु डरले अस्पताल आउन सक्नु भएको छैन । हामीले पनि दुई हप्ता गर्भ परीक्षण सेवा नगर्ने सल्लाह गरेका छौँ । सङ्क्रमण फैलिनबाट जोगिन यो आवश्यक छ ।

 

अस्पतालले समस्यामा रहेका गर्भवती तथा सुत्केरीलाई टेलिफोनबाट परामर्श दिन थालेको छ । टीकापुर अस्पतालमा सातामा दुई दिन गर्भ परीक्षण सेवा दिइन्छ ।

 

सातामा ७० जनासम्म गर्भवती सेवा लिन आउने गरेको स्टाफ नर्स खड्काले बताउनुभयो । ‘‘कुनै दिन त ३५ जनासम्म गर्भवती आउँथे, यो त जोखिम भयो भनेर हामीले फोनमै समस्या भए सोध्न भनेका छौँ’ उहाँ भन्नुहुन्छ, ‘‘यस्तो बेला खानपिनमा ध्यान दिने, घरमै रमाउने, तनाबबाट मुक्त भएर बस्नुपर्छ ।

 

अस्पतालका स्त्री रोग विशेषज्ञ गौरी रिजाल अन्य नागरिकभन्दा गर्भवती तथा सुत्केरीको रोगसँग लड्ने क्षमता कमजोर हुने भएकाले सर्तकता अपनाउन आवश्यक रहेको बताउनुहुन्छ ।

 

सङ्क्रमणको जोखिम पनि बढी हुन्छ, यस्तो बेला बालबालिका र आमालाई जोगाउन सचेतना अपनाउनु नै विकल्प हो’’, डा रिजालले भन्नुभयो, ‘‘सुत्केरी सेवा नियमित छ ।

 

सुत्केरी सेवा दिँदा स्वास्थ्यका मापदण्ड पूरा पालना गरिएका छन् । ब्यथा लागेमा अस्पताल आउनुहोला । घरमै सुत्केरी हुनु सुरक्षित होइन ।

 

टीकापुर अस्पतालमा दैनिक चारदेखि छ जनासम्म महिलाले सुत्केरी सेवा लिने गरेका छन् । अस्पतालले अन्य सेवा बन्द गरे पनि सुत्केरी सेवा स्वास्थ्यका मापदण्ड पालना गरेर नियमित दिइरहेको छ ।

 

यहाँ टीकापुरका मात्र नभई कैलालीका जानकी, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र बर्दिया जिल्लाको राजापुर नगरपालिकाका महिलासमेत सेवा लिन आउने गरेका छन् ।

 

कोरोना सङ्क्रमण बढेसँगै निषेधाज्ञा जारी गरिएपछि सुत्केरी व्यथा लागेका महिला अस्पतालसम्म सहजै आउन झन कठिनाइ भइरहेको बताउँछन् ।

 

हरेक पालिकामा रहेका स्वास्थ्य संस्थामा समेत सुत्केरी सेवा उपलब्ध भएपनि त्यहाँ शल्यक्रिया सेवा नभएका कारण अधिकांश महिला सेवा लिन यहाँ आउने गर्दछन् ।रासस,