निषेधाज्ञामा अटेरी गर्नेलाई सडकमै उठबस

काठमाडौं,बैशाख २४। कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा अटेर गर्नेलाई प्रहरीले सडकमै उठबस गराएको छ । केही समय होल्डिङ गराई उठबसपछि छाडिदिएको छ ।

 

 

जिल्लामा दैनिक संक्रमितहरु १ सय ५० भन्दा धेरै हुन थालेका छन् । बुधबार १ सय ५८ र बिहीबार १ सय ६५ संक्रमित थपिएका छन् । जिल्लामा सक्रिय संक्रमितको संख्या ९ सय १ पुगेको छ ।

 

 

बनेपा नगरपालिकाको चारदोबाटो चोकमा विभिन्न कारण देखाउँदै सडकमा नियमित आवत–जावत गर्नेहरुलाई निषेधाज्ञा उल्लंघन गरेको अभियोगमा नियन्त्रणमा लिई होल्डिङ गराई उठबसपछि छाडिदिएको हो ।

 

 

प्रहरीले निषेधाज्ञालाई कडाइका साथ पालना गराउन तोकिएको समयभन्दा बाहेक पसल खोल्ने व्यवसायीलाई समेत कारबाही गर्ने चेतावनी दिएको छ । व्यवसायीहरु २४ सै घण्टा पसल खोलेर बसेपछि पसल आउने र जाने क्रममा नागरिक नियन्त्रणमा पर्न थालेका छन् ।

 

 

प्रशासनले बैंक, सहकारी तथा अन्य वित्तीय संस्थाको सेवा बन्द नगरेकाले वित्तीय कारोवारका लागि जाने कर्मचारी तथा सेवाग्राही दैनिक सडकमा निस्कँदा भीडभाडकै कारण संक्रमण फैलने आशंका स्थानीयले गरेका छन् ।

 

 

बनेपामा बुधबार साँझसम्म ३ सयभन्दा धेरै सक्रिय संक्रमितको संख्या छ । एकै दिन स्वतफूर्तरूपमा स्वाब दिएर परीक्षण गरिएका संक्रमितको संख्या झन्डै एक सय नजिक पुगेको छ ।

 

 

इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज, ट्राफिक प्रहरी कार्यालयका केही प्रहरीहरु, स्वास्थ्य शाखाका कर्मचारी, व्यवसायीहरु संक्रमित भइसकेका छन् । बनेपामा बुधबार ८५ जना र बिहीबार ६४ नयाँ संक्रमित थपिएका छन् ।

 

 

बनेपापछि सक्रिय संक्रमितको संख्या पनौतीमा धेरै छ । पनौतीमा १ सय ८८ संक्रिय संक्रमित रहेका छन् भने धुलिखेलमा १ सय ८३ रहेका छन्। पनौतीमा बिहीबार मात्रै ४३ नयाँ संक्रमित थपिएका छन् ।

 

बनेपा, पनौती, धुलिखेल र पाँचखालमा सक्रिय संक्रमितहरु बढिरहेकाले संक्रमणको दर अझै बढ्न सक्ने विश्लेषण गरिएको डा. झाले बताउनुभयो ।

 

 

भाइरसको दोस्रो संस्करणका कारण सात दिनमा १८ जनाले काभ्रेपलाञ्चोक जिल्लामा ज्यान गुमाइसकेका छन् । ज्यान गुमाउनेको संख्या ८२ पुगेको छ।निषेधाज्ञा अटेर गर्नेलाइ कडा कारबाही गर्ने प्रहरीले जनाएकाे छ।