ललितपुर प्रहरी परिसरको अगुवाईमा चार अस्पताललाई १०५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण

काठमाडौं,बैशाख २४। महानगरीय प्रहरी परिसर, ललितपुरको अगुवाईमा जिल्लामा रहेका चार अस्पताललाई १०५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ।

 

कोरोना संक्रमितको उपचारमा अक्सिजन अभाव हुन थालेपछि जिल्लाका विभिन्न स्थानमा प्रयोगविहिन रहेका १५९ थान सिलिण्डर संकनल गरेर अस्पताललाई सहयोग गरिएको हो।

 

ललितपुरकी प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५० थान सिलिण्डर दिइएको छ।

 

यस्तै, किस्ट मेडिकल कलेज, ईमाडोललाई ३०, बज्रबाराही अस्पताल, चापागाँउलाई १० र अल्का अस्पताल, जावलाखेललाई १५ थान सिलिण्डर दिइएको हो।

 

यस्तै, खाली रहेका र प्रयोगविहिन अवस्थामा रहेका सिलिण्डर रहे नजिकको अस्पताल वा प्रहरीलाई खबर गर्दिन उनले आग्रहसमेत गरेकी छिन्।

 

ललितपुरमा पछिल्लो २४ घण्टामा ५६७ संक्रमित थपिएका छन्। यस्तै, यहाँ ४ हजार ९४७ सक्रिय संक्रमित रहेका छन् भने २३० जनाको संक्रमणबाट मृत्यु भइसकेको छ।