ज्वरो आउँदा लगाउने स्टासेफ औषधिमा लेवललगाइ नक्कली रेमडिसिभिर बनाएर ५ हजारमा विक्री गर्ने दुई व्यवसायी पक्राउ

काठमाडौं,बैशाख २४ । ज्वरो आउँदा लगाइने औषधिको लेवल उक्काएर भारतमा कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने रेमडिसिभिरको लेवल लगाएर विक्री गरेको आरोपमा एक जना व्यवसायी पक्राउ परेका छन् ।

 

भारतमा उत्पादन हुने रेमडिसिभिरको लेबल लगाएर नक्कली औषधि विक्री गर्ने दुई जनालाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
नोवेल मेडिकल कलेजको अगाडि रहेको साथी फार्मेसीका सञ्चालक सोनु आलम र श्रवण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।

 

वीरगञ्जमा उत्पादन हुने ‘स्टासेफ’ नामक इन्जेक्सनको भायलमा आलम र यादवले रेमडिसिभिरको लेबल टाँसेर बेच्ने गरेको प्रहरीले दाबी गरेको छ ।

 

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनीहरुले दुई सय भायल जति स्टासेफलाई रेमडिसिभिरको लेवल लगाएर बेचेको पाइएको छ ।

 

ज्वरो आउँदा लगाइने स्टासेफ इन्जेक्सन एक भायलको ९० रुपैयाँ पर्दछ । उनीहरुले त्यसैलाई रेमडिसिभिरको लेबल लगाएर कम्तिमा ५ हजार रुपैयाँमा बेच्ने गरेको पाइएको छ।

 

नक्कली औषधि विक्री गरेको आरोपमा औषधि व्यवसायी दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।