कार्ल माक्र्सको कठोर जीवन यात्रा र माक्र्सवादको प्रतिपादन    

सन्दर्भ :२०३ औं माक्र्स जयन्ती 

कार्ल माक्र्स माक्र्सवादका प्रवर्तक , वैज्ञानिक साम्यवादका सिध्दान्तकार तथा विश्व सर्वहारावर्गका महान् गुरु हुनुहुन्छ । उहाको जन्म सन १८१८ मे ५ का दिन जर्मनीको प्रशाप्रान्तको ट्रियर शहरको एक वकिल परिवारमा  भएको थियो ।

     
 
 
माक्र्सका पिता हेनरिख माक्र्स र हेनरियट्टा माक्र्स ( हल्याण्ड ) हुनुहुन्थ्यो । उहाँका पिता वकिल र यहुदी हुनुहुन्थ्यो , पछि सन १८२४ मा उहाँले ईसाई प्रोटेस्ट्न्ट धर्म स्वीकार गर्नुभएको थियो । माक्र्सको परिवार सुखी र सुसंस्कृत थियो ।  परिवारमा चार दाजुभाई र पाँच दिदीबहिनी हुनुहुन्थ्यो र माक्र्स माहिला छोरा हुनुहुन्थ्यो ।
         
 
 
ट्रियरमा विशिष्ट पाठशालाको अध्ययन पूरा गरि माक्र्स पहिले बोन र पछि बर्लिन विश्वविद्यालयमा गएर उच्च शिक्षा पढ्नु भएको थियोे । त्यहाँ माक्र्सले कानुन , इतिहास र दर्शनको अध्ययन गर्नुभएको थियोे । 
         
 
 
सन १८४१ मा माक्र्सले पिएचडी ( विद्यावारिधि ) प्राप्त गर्नका लागि ” प्रकृति सम्बन्धि डेमोक्राइट्स र एपिक्युरसका दर्शनमा भिन्नता ” शीर्षकमा एउटा शोध प्रबन्ध लेख्नु भएको थियोे ।त्यसमा उहाँले प्राचीन युनानी नाटक ” बन्दी प्रमिथियस ” क‍ो क्रान्तिकारी पात्र प्रमिथियसको विशेष चर्चा गर्नु भएको थियोे ।  
       
 
 
प्रमिथियस देवताहरुका विरोधी थिए । उनलाई राजद्रोहको मुद्दा लागेको थियोे । आफ्नो सोधप्रबन्धमा प्रमिथयसबारे माक्र्सले भन्नुभएको थियोे ” दर्शनको इतिहासमा प्रमिथियस सर्वाधिक प्रखर सहिद हुन् ।” त्यसमा माक्र्सले प्रमिथियसको निर्भीकता,त्याग र बलिदानको उच्च मूल्यांकन गर्नुभएको थियो ।
     
 
           
 
माक्र्स वास्तविक माक्र्स बन्नका लागि पेशाको छन‍ोटका सन्दर्भमा सन २८३५ मा अभिव्यक्ति धारणा र सन १८४१ को सोधपत्रमा प्रमिथियसबारे प्रस्तुत विचार साच्चिकै महत्वपूर्ण सैध्दान्तिक आधार बन्न  गएका थिए ।
     
 
 
माक्र्स एक क्रान्तिकारी पत्रकार पनि हुनुहुन्थ्यो । उहाँले सन १८४२ मा ” राइन समाचार पत्र ” को सम्पादक बन्नु भएको थियो ।त्यसमा उहाँको क्रान्तिकारी जनवादप्रतिको आकर्षण प्रष्टै देखिन थालेको थियोे । जसका कारण प्रतिक्रियावादी जर्मन सरकारले सुरुमा त्यस पत्रिकाको सेन्सरसिप गरेको थियोे ।
 
 
 
प्रशासनिक दमन बढ्न थाले पछि माक्र्सले सम्पादकबाट राजिनामा दिनु भएको थियो । त्यस पछि प्रतिक्रियावादी सरकारले ” राइन समाचार पत्र ” लाई बन्द गरिदिएको थियोे ।
       
 
त्यस पश्चात् माक्र्स पेरिस जानु भयो र केही साथीहरूशीत मिलि  आमूलवादी पत्रिका निकाल्ने योजना बनाउनु भयो । त्यहाँ फ्रेडरिक एंगेल्ससंग भेट भयो । त्यसपछि माक्र्स र एंगेल्सको सम्पादनमा ” जर्मन फ्रान्सिसी वार्षिक पत्रिका ” १८४४ मा निकालियो ।
 
 
 
त्यस पत्रिकामा माक्र्सको क्रान्तिकारी सोंच स्पष्टत: मुखरित भयो । फेरि प्रसियाली सरकारको दबावमा माक्र्सलाई पेरिसबाट पनि निर्वासित गरियो र त्यहीँबाट माक्र्स ब्रसेल्स जानु भयो । 
     
 
 
विद्यार्थीदेखि आफ्नी प्रेमिका जेनी फान वेस्ट फालेनसित सन १८४३ जुन १९ का दिन जर्मनीको सानो शहर क्रेश्चनाखमा माक्र्सको विवाह सम्पन्न भयो । जेनी ठूलो घरानाकी छोरी हुनुहुन्थ्यो । उहाँको दाजु तत्कालीन जर्मन प्रतिक्रियावादी सरकारको सांसद थिए ।
     
 
 
 विवाह पश्चात् जेनी माक्र्सको साथमा पेरिसमै रहनु भयो र पेरिसबाट ब्रसेल्स जाँदा पनि दुबै साथ साथै बस्नु भएको थियो । 
     सन १८४२ मा जुन माक्र्सको पेरिसमा एंगेल्ससित भेट भयो र उहाँहरुको बीचमा जीवनभर अटुट मैत्री सम्बन्ध कायम रहयो ।
 
 
 
 माक्र्स  सन १८४१ देखि १८४८ सम्मको अबधिमा वामपन्थी हेगेलवादी र फायरवाख पक्षधर हुदै नयाँ विचारको खोजमा तत्कालीन लाग्नुनुभयो । ” कोल्निश जाइटुङ्ग ” पत्रिकामा  माक्र्सले एक ठूलो आलेख लेख्नु भयो र त्यसमा दर्शनलाई धर्मबाट मुक्त गर्नका लागि जोड दिनु भयो र दर्शनलाई  “आफ्नो युगको   बौद्धिक सारतत्व ” बताउनुभयो ।
     
 
 
 
त्यसैक्रममा सन १८४३ मा प्रकाशित आफ्नो ” हेगेलको न्याय दर्शनको समालोचनाको प्रयास ” शीर्षक लेखमा माक्र्सले भन्नुभएको थियोे ” जसरी दर्शनले सर्वहारावरणगमा आफ्नो  भौतिक अस्त्र भेटाउछ , त्यसरी नै सर्वहाराले दर्शनमा आफ्नो बौद्धिक अस्त्र भेटाउँछ ।” – माक्र्स – एंगेल्स , संकलित ,चनाहरु , भाग ३, पृष्ठ १८७ ।
     
 
 
त्यसपछि आफ्नो महत्वपूर्ण पुस्तक ” १८४४ का आर्थिक तथा दार्शनिक पाण्डुलिपिहरु ” तयार पार्नु भएको थियोे । वास्तवमा माक्र्सका यी कृतिहरु माक्र्सवादको निर्माणमा कोसेढुङ्गा सावित भएका थिए ।
       
 
 
त्यसैक्रममा माक्र्स र एंगेल्स मिलेर पवित्र परिवार ( १८४५) , जर्मन विचारधारा ( १८४५ – १८४६ ) जस्ता अत्यन्तै महत्वपूर्ण कृतिहरु प्रकाशित गरिए ।
 
त्यसै सिलसिलामा माक्र्सका फायरवाखसम्बन्धि निबन्ध ( १८४५ ) , दर्शनको दरिद्रता ( १८४७ ) जस्ता महत्त्वपूर्ण कृतिहरु रचिए । त्यसै प्रक्रियामा माक्र्स र एंगेल्स एक भूमिगत संगठन ” कम्युनिस्ट लिग ” मा संगठित हुनुभयो । सन १८४७ मा लण्डनमा कम्युनिस्ट लिगको दोस्रो काँग्रेस सम्पन्न भयो ।
 
 
 
 
त्यस काँग्रेसमा माक्र्स र एंगेल्सले भाग लिनु भयो । उक्त काँग्रेसले माक्र्स र एंगेल्सलाई कम्युनिस्ट घोषणापत्रको ड्राफ्ट तयार पार्ने जिम्मा दिइयो। उहाँहरुले एक वर्ष लगाएर तयार पारिएको विश्वविख्यात ” कम्युनिस्ट घोषणापत्र ” सन १८४८ फेब्रुअरी २१ का दिन माक्र्स – एंगेल्सले लण्डनबाट जारी गर्नु भयो  । कम्युनिस्ट घोषणापत्रको प्रकाशन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा एउटा युगान्तकारी परिघटना थियो ।
       
 
सन १८४८-१८५२ को आसपासको अबधि फ्रान्स , जर्मनी लगायतका युरोपेली देशहरुमा वर्गसंघर्षक‍ो उथलपुथलको अबधि थियो । त्यही बेला माक्र्सलाई बेल्जियमबाट निर्वासित गरियो र त्यस पछि माक्र्स पेरिस जानु भयो ।
 
 
 
  पेरिसबाट पुनः जर्मनीको कोलोनमा गई नयाँ राइन समाचार पत्रको सम्पादक बन्नु भयो । त्यहाँ माक्र्समाथि मुद्दा चलाइयो । मुद्दाबाट छुट्कारा पाएपछि उहाँलाई जर्मनीबाट पनि निर्वासित गरियो । त्यसपछि माक्र्स मृत्युप्रयन्त लण्डनमै बस्नु भयो ।
       
 
 
माक्र्सको जीवनमा पत्रकारिता , निर्वासन र क्रान्ति – प्रतिक्रान्तिका तितामिठा परिघटनाहरुका साथ गुजि्रएको थियो । त्यसै प्रक्रियामा माक्र्सले “फ्रान्समा  वर्गसंघर्ष “(१८५०) ” लुई बोनापार्टको अठारौं ब्रुमेर ” ( १८५२) जस्ता ऐतिहासिक भौतिकवादको विकासित सम्बन्धित महत्वपूर्ण पुस्तकहरु लेख्नु भयो । सन १८५९ मा माक्र्सद्वारा लिखित ” राजनीतिक अर्थशास्त्रको समिक्षाको एक प्रयास ” शीर्षक रहेको विशेष महत्वपूर्ण कृति तयार भएको थियोे । 
 
 
 
उक्त कृति ऐतिहासिक भौतिकवाद र राजनीतिक अर्थशास्त्रको क्षेत्रशीत सम्बन्धित रहेको छ । त्यस अबधिमा माक्र्सले राजनीतिक अर्थशास्त्र सम्बन्धि अन्य विभिन्न पाण्डुलिपिहरुको निर्माण गर्दै ” पुँजीका लागि सामाग्रीहरुलाई व्यवस्थि तुल्याउनु यो । विशेष अध्ययनका लागि त्यो अबधि माक्र्सका लागि निकै उर्वर रहयो । 
     
 
 
सन १८५० यताका माक्र्सको निर्वासन जीवन ज्यादै कठिन र चुनौतीपूर्ण रहे । त्यस अबधिमा माक्र्सले ठूलो आर्थिक समस्या झेल्नुपरेको थियो । सानो छोरी मर्दाको समयमा कात्रो किन्ने पैसा नहुनु , घर भाडा तिर्न नसक्दा घरबेटीले सामान,लत्ताकपडा घर बाहिर फ्याँकि दिनु जस्ता घटनाले ठूलो अपमान बेहोर्नुपरेको र गरीबी तथा अभावका कारण स्वास्थ्य स्थिति कम्जोर भई बालबच्चा अकाल मृत्युको शिकार बन्नु निकै दर्दनाक विषय बनेका थिए माक्र्सको जीवनमा ।
       
 
 
माक्र्सले आफ्नै उच्च मनोबल , जीवनसंगिनी जेनी माक्र्सको अविचल साथ र एंगेल्सको न्यानो र अतुलनीय सहयोग पाएर त्यस प्रकारका जटिल समस्याको सामना गर्नु भएको थियो ।
     
 
 
सन १८५२ मा कम्युनिस्ट लिगको विघटन पश्चात् माक्र्स अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको तयारीमा अग्रसर हुनु भएको थियोे । सन १८६० को दशकमा माक्र्स आन्दोलन र संगठनले फाँटमा बढी क्रियाशील हुनुभएको थियोे ।
     
 
 
सन १८६४ मा लण्डनमा माक्र्सले आफ्नै नेतृत्वमा पहिलो अन्तर्राष्ट्रियको रुपमा अन्तर्राष्ट्रिय मजदुर संघको स्थापना गरियो । उक्त संगठन भित्रका एकातिर प्रुंधो , बाकुनियनसहितको अराजकतावाद र अर्कोतिर लासालपन्थी दक्षिणपन्थी अवसरवादका विरुद्ध माक्र्सले भीषण वैचारिक संघर्ष सञ्चालन गर्नु परेको थियोे ।
 
 
त्यसैक्रममा सन १८७१ मार्च २८ मा पेरिसका मजदुरहरुले पुँजीपति वर्गको सत्तामाथि धावा बोल्दै पेरिस कम्युनको स्थापना गरे । पेरिस कम्युन एक युगान्तकारी परिघटना थियो ।
     
 
पेरिस कम्युनसित केन्द्रित रहेर माक्र्सले “फ्रान्समा गृहयुद्ध ” ( १८७१) जस्तो महत्वपूर्ण पुस्तक लेख्नुभएको थियो । साथै त्यसै अबधिमा माक्र्सले राजनीतिक अर्थशास्त्रको क्षेत्रमा युगान्तकारी भूमिका निर्वाह गर्ने अत्यन्तै महत्वपूर्ण कृति ” पुँजी खण्ड – १” (१८६७) तयार पार्नु भयो ।
     
 
 
७२ दिनपछि अर्थात् सन १८७१ मे १८ का दिन पेरिस कम्युन ढल्यो । बाकुनियनवादीहरुले खडा गरेका व्यजधानहरुका कारण अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको अस्तित्वमा गंभीर प्रकारको खतरा पैदा हुन पुग्यो । सन १८७२ मा हेग काँग्रेसमा लगेर पहिलो अन्तर्राष्ट्रियको विघटन गरेर माक्र्सले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई बचाउने काम गर्नु भयो ।
       
 
 
माक्र्सले सन १८४८ देखि पेरिस कम्युनसम्मका अनुभवहरुको आधारमा माक्र्सले वैज्ञानिक समाजवादको क्षेत्रमा सर्वहारा अधिनायकत्वको सिध्दान्तलाई सूत्रबध्द गरेर स्थापित तुल्याउनु भयो ।
 
 
 
यसैक्रममा माक्र्सले अवसरवादको विरुद्धको संघर्षको क्रममा आफ्नो ” गोथा कार्यक्रमको आलोचना ” ( १८७५) तयार पार्नु भएको थियो र त्यस कृतिमा पुँजीवाददेखि समाजवादसम्मको संक्रमणकालिन अवधिका लागि सर्वहारावर्गको अधिनायकत्व अपरिहार्य हुने कुरा बताउनु भएको थियो ।
 
 
माक्र्स पश्चात् सन १८८९ मा एंगेल्सले दोस्रो अन्तर्राष्ट्रियको स्थापना गर्नुभएको थियो । सन १८८२ डिसेम्बर २ का दिन माक्र्सकि जीवनसंगिनी जेनी माक्र्सको निधन  भयो । त्यस पश्चात् सन १८८३ मार्च १४ का दिन कार्ल माक्र्सको पनि निधन भयो ।
     
 
 
यसरी  माक्र्सको दु:खद निधनले विश्व सर्वहारावर्गले आफ्नो आदरनीय गुरु , एउटा असल शिक्षक गुमाउन बिवस भयो । कार्ल माक्र्सको समाधिमा भाषण दिदै १८८३ १७ मार्चका दिन फ्रेडरिक एंगेल्सले भन्नुभएको थियो ” यश ओजस्वी आत्मको महाप्रयानले जुन अभाव पैदा भएको छ , मानिसहरुले शीघ्र नै त्यसको अनुभव गर्नेछन् । ….. उनको नाम युगौयसगसम्म अमर रहनेछ , त्यसरी नै उनको काम पनि अमर रहनेछ।”
     
 
 
 माक्र्सको निधनपश्चात् एंगेल्सले ” पुँजी ” को सम्पादन गर्नुभयो र तिनका बाँकी खण्डहरुलाई प्रकाशित गर्ने व्यवस्था मिलाउनु भएको थियो । माक्र्स कै सहयोगमा एंगेल्सले सन १८७८ मा ड्युहरिङ्ग मतखण्डन जस्तो गहन सैध्दान्तिक कृति लेख्नुभएको थियो ।
 
 
 
माक्र्सको निधनपश्चात्  एंगेल्सले ” परिवार , निजी सम्पत्ति र राज्यसत्ताको उत्पत्ति,लुडविक फायरवाख तथा क्लासिकलजर्मन दर्शनको अन्त्य ” जस्ता महत्त्वपूर्ण कृतिहरु लेख्नुभएको थियोे ।
     
 
 
माक्र्सद्वारा माक्र्सवादको निर्माण र विकासमा एंगेल्सक‍‍ो महत्वपूर्ण भूमिका रहेको थियोे ।  फ्रेडरिक एंगेल्स कार्ल माक्र्सको अनन्य मित्र सहयोगी हुनुहुन्थ्यो । एंगेल्सले माक्र्सका निम्ति आर्थिक सहयोग मात्र गर्नु भएन , विचारधारात्मक सहयोग पनि गर्नु भएको थियो ।
 
 
 
माक्र्स र एंगेल्सले माक्र्सवादको निर्माण , रक्षा र प्रयोगमा जीवनमरणको विचारधारात्मक संघर्ष गरेर माक्र्सवादलाई बचाउनु भएको थियोे  । त्यसो भएर एंगेल्सले भन्नुभएको थियो,सर्वहारावर्गको विकास जहाँकहीँ पनि आन्तरिक संघर्षको बीचबाट नै अगाडि बढ्छ , जस्तो कि माक्र्स र म आफैंले पनि अरु कसैसंग  भन्दा बढी नक्कली समाजवादीहरु विरुद्ध जीवनमा कठिन लडाइँ लडेका थियौं ।”
 
 
   
एंगेल्सले माक्र्सका निम्ति आर्थिक सहयोग मात्र गर्नु भएन , विचारधारात्मक सहयोग पनि गर्नुभएको थियो । माक्र्सका विचार र शिक्षाहरुलाई माक्र्सवादका रुपमा नामाङ्कन गर्ने विशिष्ट काम पनि एंगेल्सबाट नै सम्पन्न भएको थियो ।
   
 
 
 सन १८२० नोभेम्बर २८ का दिन जर्मनीको बर्मेन शहरमा आर्थिक रुपमा  एक सम्पन्न परिवारमा  एंगेल्सको जन्म भएको थियोे । आइरिस युवती मेरी वन्स ( विधिवत विवाह नभएको तर सहयोध्दा र जीवनसंगिनी ) को सन १८६३ मा मृत्यु भएपछि उनकै बहिनी लिजीसंग सन १८६४ मा विधिवत विवाह सम्पन्न भएको थियो तर सन्तान भने नभएको ।  एल्वरफेल्टको कलेजबाट सैन्य विज्ञानसम्बन्धि अध्ययन गर्नुभएका एंगेल्सले पछि स्वअध्ययन गर्नुभएको थियो ।
         
 
 
सन १८९५ अगस्ट ६ का दिन अनन्य मित्र फ्रेडरिक  एंगेल्सको पनि निधन भयो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा माक्र्स र एंगेल्सको मैत्री एक अद्वितीय परिघटना थियोे । 
     
 
 
यसरी विश्व सर्वहारावर्गका महान् नेता तथा गुरुहरु माक्र्स र एंगेल्स १२ वर्षको फरक पारेर यश धर्तीबाट अस्ताएको भए पनि उहाँहरुले जन्माएको माक्र्सवाद अस्ताएन। बरु दुबो झै गरि यश धर्तीमा मौलाएको छ । 
     
 
 
आज माक्र्स लेनिनवाद – माओवाद हुदै विचार विकासको सिर्जनात्मक रुपले ईटा थप्दै विश्व सर्वहारावर्गको मुक्तिको पथप्रदर्शक सिध्दान्त बन्न पुगेको । त्यसैले अपराजेय सैध्दान्तिक किल्लाको रुपमा खडा हुन पुगेको माक्र्स अमर । 
 
बुढानिलकण्ठ नगरपालिका – २ , काठमाडौं 
 
( लेखक : अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् )