अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले ५७ औं विद्यार्थी एकता दिवसको सन्दर्भमा प्रेस विज्ञप्ति जारी गर्दै सशस्त्र विद्रोहको निम्ति तयार रहन सबैमा अपिल

काठमाडौं,जेठ १ । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले ५७ औं विद्यार्थी एकता दिवसको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै आम विद्यार्थी, अभिभावक लगायत आम जनसमुदायलाई सशस्त्र विद्रोहका निम्ति तयार रहन अपिल गरिएको छ ।

 

त्यस्तै आज शिक्षा र स्वास्थ्य क्षेत्रका माफियाहरुको कब्जामा छ।अहिले कोभिड–१९ को दोस्रो लहरले सिंगो मुलुक आक्रान्त बनेको अवस्था छ। अक्सिजनको अभावले कैयौं मानिसहरु मरिरहेका छन् । सरकार लाशको बिस्कुन लगाएर सत्ता स्वार्थको खेलमा रमाइरहेको छ ।

 

 त्यसैले अहिलेको दलाल प्रतिक्रियावादी राज्य व्यवस्थालाई ध्वंश गरी जनताको राज्य व्यवस्था स्थापना गर्नु जरुरी छ।विद्रोहको निम्ति तयार रहनसमेत हार्दिक अपिल गर्दै अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलद्धारा प्रेस विज्ञप्ति जारी गरिएको छ। 

 

       प्रेस विज्ञप्तिः- 

५७ औं विद्यार्थी एकता दिवसको सन्दर्भमा सशस्त्र विद्रोहको निम्ति तयार रहन अपिल !

हाम्रो महान् तथा गौरवशाली संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) स्थापनाकालदेखि नै शैक्षिक मुद्दाका साथसाथै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाललाई लिएर निरन्तर संघर्ष सञ्चालन गर्दै अघि बढिरहेको छ ।

 

 

पञ्चायत, बहुदलीय प्रजातन्त्र र २०५२ सालमा तत्कालीन ने.क.पा. (माओवादी) ले सञ्चालन गरेको महान् १० वर्षे जनयुद्ध, १९ दिनको जनआन्दोलन हुँदै यहाँसम्म आइपुग्दा शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका सबै प्रकारका विकृति र विसंगतिको अन्त्य गरी शिक्षा र स्वास्थ्यलाई पूर्णरुपमा राष्ट्रियकरण, निःशुल्क एवं सर्वसुलभ र राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सुनिश्चितताका लागि अग्रमोर्चामा रहेर सक्रियताका साथ नेतृत्वदायी भूमिका समेत निर्वाह गर्दै अघि बढिरहेको एउटा जोधाहा संगठन हो ।

 

हरेक कालखण्डमा संघर्ष गर्दै जाने क्रममा माउपार्टीहरुमा देखा परेका विचलन र टुटफुटले विद्यार्थी संगठनहरुमा पनि त्यही खालको आरोह–अवरोहहरु पैदा हुन पुगे भने निजी स्वार्थमा लिप्त हुनुका साथै अर्थवादमा समेत फस्न पुगे, जसका कारण विद्यार्थी संगठनमा पनि टुटफुट भयो ।

 

 

कतिपय विद्यार्थी संगठनका नेताहरु स्वयं निजी स्वार्थमा लिप्त हुने, अर्थवादमा रमाउने, शैक्षिक माफियाहरुको पृष्ठपोषण गर्नुका साथै तिनैसँग घाँटी जोड्नसमेत पुगे । यी यावत कारणले विद्यार्थी आन्दोलनसमेत धरासायी बन्न पुग्यो ।

 

 

यद्यपि हाम्रो संगठन अखिल (क्रान्तिकारी) आफ्नो उद्देश्यप्रति प्रतिबद्ध हुँदै सबै प्रकारका चुनौतीहरुलाई चिर्दै यहाँसम्म आइपुगेको सुस्पष्ट नै छ। आज शिक्षा र स्वास्थ्य क्षेत्र माफियाहरुको कब्जामा छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा माफियाहरुको हालीमुहाली छ । सरकार तिनै माफिया र दलालहरुको नाइके बनेर आम जनमानसमा भ्रम सिर्जना गरिरहेको छ ।

 

 

अहिले कोभिड–१९ को दोस्रो लहरले सिंगो मुलुक आक्रान्त बनेको अवस्था छ । अक्सिजनको अभावले कैयौं मानिसहरु मरिरहेका छन् । सरकार लाशको बिस्कुन लगाएर सत्ता स्वार्थको खेलमा रमाइरहेको छ । संसद्मा भएका सत्तापक्ष, प्रतिपक्षलगायत सबै पार्टी र तिनका नेताहरु आफ्ना स्वार्थबाहेक जनताको निम्ति जिम्मेवार छैनन् ।

 

हत्या, हिंसा र बलात्कारका घटनाहरुले कहाली लाग्दो अवस्था सिर्जना गरेको छ । सिंहदरबारको भ्रष्टाचार गाउँगाउँ पुगेको छ । भ्रष्टाचारी र तस्करहरुले खुलेआम आफ्ना गतिविधि सञ्चालन गरिरहेका छन् ।

 

यस्ता गतिविधिहरुलाई निस्तेज पार्नुको सट्टा सरकारले भने तिनैको नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको प्रष्टै देखिन्छ । यस कारण मुलुक आज दलाल, तस्कर, गुण्डा, भ्रष्ट र माफियाहरुको कब्जामा छ । राष्ट्रियता अत्यन्तै संकटग्रस्त अवस्थामा पुगेको छ ।

 

एमसीसी ९ःऋऋ० जस्तो राष्ट्रघाती परियोजना पास गराउनका लागि सरकार मरिहत्ते गरेर लागिपरेको छ भने सत्ता टिकाउन र पाउनका लागि नेताहरु विदेशीको गुलाम बन्न तँछाड–मछाड गरेर लागिरहेका छन् । ‘सुखी नेपाली, समृद्ध नेपाल’को डङ्का पिट्ने तर युवा–नौजवानहरुलाई विदेश पठाएर रेमिट्यान्सले मोजमस्तीमा रमाउने, नेपालका स्रोत र साधनहरुलाई कौडीको भाउमा विदेशीहरुलाई सुम्पने काम भइरहेको छ।

 

लकडाउन र निषेधाज्ञा जारी गर्ने तर अक्सिजन, भेन्टिलेटर, आईसीयूलगायत अत्यावश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन नगर्ने, महामारी नियन्त्रणमा गैरजिम्मेवार बन्ने, राहत प्याकेजको घोषणा नगर्ने कार्यले सरकारको वास्तविकता छर्लङ्ग भएको छ । जनताहरु रोग र भोकले मर्न विवश छन् । यी समग्र परिवेशले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा सरकार गैरजिम्मेवार छ भन्ने कुरा प्रष्ट हुन्छ ।

 

यसरी समग्रमा अहिले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको साथसाथै शिक्षा र स्वास्थ्य क्षेत्र गम्भीर संकटमा परेको छ । जनताको जीवन असाध्यै कष्टकर, बेहाल हुनुका साथै उपचारविहीन अवस्थाबाट गुज्रनु परेको छ । राज्यको समग्र संयन्त्र नै पूर्णरुपमा असफल भइसकेको छ । त्यसैले अहिलेको दलाल प्रतिक्रियावादी राज्य व्यवस्थालाई ध्वंश गरी जनताको राज्य व्यवस्था स्थापना गर्नु जरुरी छ ।

 

 

यसका लागि सशस्त्र जनविद्रोहमार्फत् नयाँ जनवादी क्रान्ति सम्पन्न गरी नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद स्थापनाको निम्ति दृढताका साथ अघि बढ्न जरुरी छ । ५७ औं विद्यार्थी एकता दिवसको सन्दर्भमा आम विद्यार्थी, अभिभावक, शिक्षक, मजदूर, किसान, महिला, दलित, जनजाति, उत्पीडितलगायत आम आदरणीय जनसमुदायलाई विद्रोहको निम्ति तयार रहनसमेत हार्दिक अपिल गर्दछौं ।
क्रान्तिकारी अभिवादनसहित !

 

……………………
हरिकृष्ण गजुरेल
अध्यक्ष

प्रेस विज्ञप्ति यस्ताे छ,

Letterhead 078-02-01