कोरोनाले लियो एकै गाउँका १६ जनाको ज्यान

सांकेतिक तस्विर

काठमाडौ,जेठ ४। पर्साको जगरनाथपर गाँउपालिकामा पछिल्लो २ सातामा १६ जनाको मृत्यु भइसकेको छ । ती मध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

 

अन्य ३ जना मृतकको कोरोना परिक्षण नगरिए पनि कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएको थियो । मृतक १६ मध्ये ७ जना चिलझप्टी गाँउकै बासिन्दा हुन् ।

 

 

चिलझप्टी गाँउका घरघरमा संक्रमण फैलिसकेको पुष्टि भइसकेको भएपनि संक्रमण नियन्त्रणका लागि अहिलेसम्म कुनै पहल नभएको गाँउपालिकाकै स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साहले स्वीकारे ।

 

 

गाँउपालिकाको अनुरोधमा वीरगन्जबाट बैशाख २८ गते चिलझपटी गाँउमा पुगेको स्वासथ्यकर्मीको टोलीले ११ जनाको एन्टिजेन परिक्षण गर्दा ७ जनामा संक्रमण भेटिएको थियो ।

 

 

त्यहि दिन टोलीले २५ जनाको स्वाब संकलन गरि नारायणी अस्पतालमा ल्याएर पीसीआर परिक्षण गर्दा २५ मध्ये १५ जनामा संक्रमण पुष्टि भएको थियो ।

 

 

साहका अनुसार चिलझपटी गाँउमा संक्रमण पुष्टि भएका २२ जना संक्रमितहरूको अहिलेसम्म कन्ट्याक्ट ट्रेसीङ समेत हुन सकेको छैन । चिलझप्टी गाँउका घरघरमा संक्रमण फैलिसकेको भएपनि परीक्षण सामग्रीको अभावमा थप परीक्षण हुन नसकेको साहले बताए ।

 

 

चैत २८ गते स्वास्थ्यकर्मीको टोलीले चिलझपटी गाउँको घरघरमा पुगेर तापक्रम जाँच्दा,ज्वरो र रुघाखोकीका १ सय ७६ जना बिरामी फेला पारेको थियो ।

 

 

गाँउभरि नै संक्रमण फैलिएको पुष्टि भइसकेकाले तत्काल परिक्षण कार्य शुरु नगरिए गाँउको अवस्था झन् भयावह बन्ने साहको भनाइ छ ।नेपाल समाचारपत्र,