एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

सांकेतिक तस्विर

काठमाडौं,जेठ १७। पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

 

झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर तल झरेर दुर्घटना भएको हो ।

 

 

दुर्घटनामा घाइते भएकी पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाकी ५० वर्षीय ममता राईलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकामा बिहान ३ः४० मा चिकित्सकले मृत घोषित गरेका थिए ।

 

 

दुर्घटनामा सोही स्थानका हेमन सुब्बा र ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ का डोडकुमार राई घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

 

 

टाउको, हात तथा छातीमा चोट लागेका घाइतेहरुको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ । मृतक तथा घाइतेहरु उपचारका लागि झापा गई उपचारपश्चात घर फर्कँदै थिए ।

 

 

दुर्घटनापछि प्रहरीले उक्त एम्बुलेन्सका चालक पाँचथरको हिलिहाङ गाउँपालिका–२ सिंहपुरका वीरेन्द्र धिताललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ । उक्त एम्बुलेन्समा चालकसहित चार जना सवार थिए ।