निषेधाज्ञामा भिडभाड रोक्न खोज्दा प्रहरीमाथि ढुंगामुढा,७ प्रहरी घाइते

काठमाडौं,जेठ २४। रौतहटमा निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा सोमबार राति सुरक्षाकर्मी र स्थानीयबीच झडप भएको छ। झडपमा डीएसपीसहित ७ प्रहरी घाइते भएका छन्। प्रहरीले झडपमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ।

 

 

निषेधाज्ञाको समयमा ठूलो भीडभाड गरी डिजे बाजा बजाइरहेको सूचनाको आधारमा सम्झाई बुझाई गर्न गएको प्रहरीमाथि स्थानीयहरुले आक्रमण गरेका थिए।

 

 

झडपमा इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी द्वारिका घिमिरेको करङको हड्डी भाँचिएको छ। डिएसपी घिमिरेको गरुडास्थित रौतहट ग्रान्डी अस्पतालमा आइसियुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

 

 

स्थानीय जयलाल सहनीका छोरा सुजित सहनी, भैरो राय यादवकी छोरी तथा राजाराम सहनीको छोरा गरी तीन जनाको बिहेमा डिजे बाजा बजिरहेको तथा सयौँको संख्यामा मानिसहरु भेला भई डिजे बाजामा नाचिरहेको सूचना प्रहरीले पाएको थियो।