नेपालमा किन घटेन कोरोनाबाट मृत्यु हुने दर, यस्तो छ, मन्त्रालयको भनाइ

काठमाडौं।जेठ २६। पछिल्लो साता कोभिड–१९ संक्रमण दर घट्दै गए पनि मृत्युदरमा उल्लेखनीय सुधार नआएको विज्ञहरूले बताएका छन् ।

 

 

संक्रमण दर घट्दै गएकाले अस्पतालमा शय्या पाउन खासै समस्या छैन । मृत्यु भने दैनिक एक सय हाराहारीभन्दा घट्न सकेको छैन ।

 

 

मंगलबारको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६५ जनाको पीसीआर परीक्षण गर्दा ३२.०७ प्रतिशत अर्थात् ३ हजार ८ सय ७० जनामा संक्रमण देखिएको छ भने १ सय ८ जनाको मृत्यु भएको छ ।

 

 

‘मृत्युदरमा उल्लेख्य सुधार हुन अझै बाँकी छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले भने, ‘संक्रमण दरमा भने सुधारोन्मुख लक्षण देखिन्छ ।

 

 

संक्रमणको पहिलो लहर कम हुने बेला यस्तै अवस्था देखिएको उनको भनाइ छ । ‘तर पहिलो लहर पिकमा हुँदासमेत  मंगलबार जति मृत्यु भएको छ, त्यसको करिब एकतिहाइ मात्र मृत्यु भएको तथ्यांक छ,’ उनले भने ।

 

 

अझै केही समय स्वास्थ्य सावधानी आवश्यक रहेको जनाउँदै उनले छिमेकी मुलुक भारतमा समेत संक्रमण कम हुँदै गएकाले त्यसको सकारात्मक प्रभाव नेपालमा पर्ने विश्वास व्यक्त गरे ।

 

 

भारतमा मंगलबार २ हजार १ सय ३० जनाको मृत्यु भएको छ । ४.५० प्रतिशत अर्थात् १३ लाख ३ हजार ७ सय २० जना सक्रिय संक्रमित छन ।

 

 

नेपालमा मंगलबार १ सय ८ जनाको मृत्यु भएको छ । १३.९० प्रतिशत अर्थात् ८२ हजार ७ सय ३६ जना सक्रिय संक्रमित छन् ।कान्तिपुर दैनिकले लेखेको छ।