नेपाल समूहका भातृ संगठनले भने ओलीले फेरी धोखा दिन्छन्,अलमल नगरी नयाँ पार्टी दर्ता गरौं

काठमाडौँ,जेठ २६ । नेकपा एमाले माधव कुमार नेपाल समूहको भातृ संगठनका नेताहरुले अलमल नगरी नयाँ दल दर्ता गर्न नेतृत्वलाई आग्रह गरेका छन् ।

 

 

अहिले ओली पक्षले वार्ता गर्न खोज्नु भनेको पदको लागि आफूहरुलाई प्रयोग गर्ने र अन्त्यमा धोखा नै दिने प्रपन्च भएको भन्दै उनीहरुले अलमल नगर्न नेताहरुलाई आग्रह गरेका हुन् ।

 

 

एमालेको माधवसमूहले समानान्तर भातृ संगठनहरूको सामूहिक बैठकमा सहभागी नेताहरूले झलनाथ खनाल र माधव नेपालको सहमति तथा निर्देशनबिना कुनै नेता वार्तामा बसेका छन् भने त्यो अनधिकृत र धोखेबाजी हुने समेत बताए ।

 

 

माधव नेपालको प्रमुख आतिथ्यतामा भइरहेको जनसंगठनका प्रमुख तथा पदाधिकारीहरूको जुम बैठकले अब केपी ओलीको अलमलमा नलागी पार्टी विभाजन गर्नुपर्ने सुझाव नेपाललाई दिएका छन् ।

 

 

एकताका नाममा वार्ता गर्ने दोस्रो तहका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतलाई  ओलीसमूहसँगको वार्ताबाट फिर्ता बाेलाउन पनि उनीहरूले आग्रह गरेका छन् ।

 

 

बैठकमा उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष गणेश विकेले एकता र वार्ताका नाममा अलमलिँदा आफ्नै समूहका कतिपय नेताले छेपारो नै छक्क पर्ने गरी रंग फेर्ने काम गरेको भन्दै यसो हुन नदिन चाँडै दल दर्ता गर्न आग्रह गरेका थिए।  

 

 

नेपालसमूहका अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले अझै पनि वार्ता र एकता भन्ने नेताहरू केपी ओलीभन्दा पनि खतरनाक भएको बताउनुभयो ।ओली एकता विरोधी हुन् भन्ने कुरा बाहिर स्थापित गरेर पार्टी चाँडो विभाजन गर्न नेतृत्वलाई सुझाव दिनुभयो ।

 

 

सहअध्यक्ष ओसिम आलमले बैठकमा भने नेपालले सही गरेको ठाउँमा सही नगर्ने नेताहरु केपी ओलीभन्दा खराब हुन्।हामीलाई हाम्रै नेताहरुबाट धोखा त भइरहेको छैन ?

 

 

किसान महासंघका महासचिव बलराम बास्कोटाले माधव नेपाल र झलनाथ खनालको निर्देशनबिना कसैले वार्ता गर्दैछ भने त्यसलाई वार्ता मान्न नसकिने उनले बताएका छन्।