बाख्रा चराउन निस्केका पाँच बालिकाको पोखरीमा डुबेर मृत्यु

काठमाडौं,जेठ २८। धनुषामा बाख्रा चराउन निस्केका पाँच बालिकाको ज्यान गएको छ । मुखियापट्टि मुसहरनिया गाउँपालिका–५ स्थित लक्ष्मीनियाँ गाउँका ती बालिकाहरुको ज्यान गएको हो ।

 

 

उक्त घटनापछि गाउँ स्तब्ध बनेको छ । १० देखि १२ वर्ष उमेरका बालिकाहरु खेतमा खनिएको खाल्डोमा भरिएको पानीमा डुबेका थिए ।

 

 

ती बालिकाहरु गर्मीले गर्दा नजिकै खेतमा रहेको ‘पोखरी’ मा नुहाउन पसेका थिए । स्थानियले माछा पालनका लागि खनिएको खाल्डोमा पानी भरेर पोखरी बनेको वडाध्यक्ष धर्मेन्द्र यादवले बताए ।

 

 

पोखरीमा छिरेका सात बालिकामध्ये दुई जनाले जसोतसो ज्यान जोगाए तर पौडिन नसकेका ५ जना भने पोखरीमै अड्किए ।

 

 

मृत्यू हुनेहरुमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्राकुमारी भगत, राजगिर पूर्वेकी १३ वर्षीया छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया नातिनी चाँदनी ठाकुर र वकिल साहकी १२ वर्षीया छोरी ललिता साह रहेका छन् ।

 

 

उनीहरुको शव पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याइएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी मुकेन्द्र मिश्रले जानकारी दिए ।