सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३० अर्ब ३३ करोड ९४ लाख बढीको बजेट

काठमाडौं।सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार बराबरको बजेट ल्याएको छ ।

 

 
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले चालुतर्फ १० अर्ब ६६ करोड ९ लाख ३ हजार अर्थात ३५ दशमलव १ प्रतिशत र पूँजीगत १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार अर्थात ५८ दशमलव २ प्रतिशत, अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ १ अर्ब ७२ करोड ४५ लाख अर्थात ५ दशमलव ७ प्रतिशत र वित्तिय व्यवस्था तर्फ ३० करोड अर्थात १ प्रतिशत बजेट बिनियोजन गरिएको बताए ।

 

 

बजेटको श्रोत मध्ये आन्तरिक राजस्वबाट १ अर्ब ८ करोड, ३ लाख २२ हजार, नेपाल सरकारको राजस्व बाँडफाँडबाट ७ अर्ब ९२ करोड ९१ लाख, संघीय रोयल्टी बाँडफाँडबाट ३ करोड ९४ लाख ६३ हजार, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ८ अर्ब ५४ करोड ८० लाख, चालु आर्थिक वर्षको बजेटबाट बचत हुने अनुमानित रकम ६ अर्ब ६८ करोड २० लाख ६१ हजार, स्वत अनुदानबाट प्राप्त हुने ४ अर्ब १९ करोड ३३ लाख, संघीय समपुरक अनुदानबाट प्राप्त हुने १ अर्ब २२ करोड ९४ लाख, विशेष अनुदानबाट प्राप्त हुने ६१ करोड ३५ लाख, विकास साझेदारीबाट परिचालित हुने सहायता रकम २ करोड ४६ लाख १० हजार प्राप्त हुने अनुमान गरेको आर्थिक मामिला तथा योजनामन्त्री शाहले बताए ।

 

उनले आगामी आर्थिक वर्षमा ६ दशमलव ३ प्रतिशत आर्थिक वृद्धि हुने बताए ।

 

 

 

अस्पताल स्तरोन्नती तथा सेवा सुधार वर्ष कार्यक्रम सञ्चालन गर्न २ अर्ब ४२ करोड ५८ लाख, कोरोना लगायतका महामारी रोकथाम र उपचारका लागि ९० करोड, विद्यालय सुधार कार्यक्रमका लागि एक अर्ब १७ करोड र महिला सशक्तिकरण कार्यक्रमका लागि ५ करोड बजेट विनियोजन गरिएको छ ।

 

 

यस्तै बादी समुदायको गरिवी न्यूनीकरणका लागि ३ करोड, कैलास मानवसरोवार प्रवेश द्धार निर्माणका लागि २० करोड ९० लाख, खप्तडमा पूर्वाधार विकास गर्न २ करोड ५० लाख, सशस्त्र द्धन्द्धमा पीडित र घाइते परिवारलाई रोजगार बनाउन १० करोड बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री शाहले उल्लेख गरेका छन् ।