ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिँदा ६ जना प्रहरी घाइते

काठमाडौं। नारायणगढ-मुग्लिन सडक खण्डमा ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिंदा प्रहरी उपरीक्षकसहित ६ प्रहरी घाइते भएका छन् ।

 

 

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ६०११ नम्बरको मालवाहक ट्रकले विपरीत दिशाबाट आउँदै गरेको जिल्ला प्रहरी कार्यालयको बा २ झ ३४७२ नम्बरको जीपलाई ठक्कर दिँदा शुक्रबार साँझ ५:३० बजे उक्त दुर्घटना भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार घाइते प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीको टाउको, मुख र हातमा चोट लागेको छ ।

 

 

पाँच प्रहरीको समेत टाउको, हातलगायत अंगमा सामान्य चोट लागेको उनले जानकारी दिए । घाइते सबैको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भइरहेको छ ।

 

 

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने नारायणगढ-मुग्लिन सडकको भासिएको सडक र मुग्लिनको आर्च पुल अनुगमन गरेर फर्किने क्रममा भरतपुर महानगरपालिका वडा नं २९ गाईघाटमा दुर्घटना भएको बताए ।

 

 

अनुगमनका क्रममा फरक गाडीमा डिभिजन सडक कार्यालयका प्रमुख र इञ्जिनीयरसमेत रहेका थिए । लामिछानेले भने,मेरो अगाडि एसपी सापको गाडी थियो, अकस्मात् ट्रकले ठक्कर दियो ।

 

प्रहरी उपरीक्षकसहितको प्रहरीको अवस्था खतरामुक्त रहेको उनले जानकारी दिए । उनले भने,उहाँहरुको अवस्था खतरामुक्त छ, अब डिस्चार्ज गरेर फर्किँदै छौं ।

 

 

 

गाडीको अगाडिको भाग भने पूर्ण क्षतिग्रस्त भएको लामिछानेको भनाइ छ । ठक्कर दिने ट्रक र चालक प्रहरीले नियन्त्रणमा लिएको छ।