जसपाको ठाकुर र महतोसमूहले अन्तरिम आदेशबारे अहिले नै प्रतिक्रिया नदिने निष्कर्ष

काठमाडौँ। जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो समूहका निवर्तमान सांसदहरूले सर्वोच्च अदालतको नागरिकतासम्बन्धी अध्यादेश र मन्त्रिपरिषद् गठन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश रणनीतिक भएको बताएका छन् ।

 

 

दिउँसो पार्टी कार्यालय बबरमहलमा भएको निवर्तमान सांसदहरूको अनौपचारिक छलफलमा नेताहरूले सर्वोच्चले रणनीतिक रूपमा नै यी दुई विषयमा अन्तरिम आदेश दिएको बताएका हुन् ।

 

 

सर्वोच्चको अन्तरिम आदेश भएको र पूर्ण फैसला नआएकाले त्यस विषयमा औपचारिक प्रतिक्रिया नदिने निष्कर्ष अनौपचारिक बैठकले निकालेको छ ।

 

 

‘सर्वोच्चको अन्तरिम आदेश रणनीतिक छ । तर, पूर्ण फैसला नआउँदासम्म औपचारिक प्रतिक्रिया नदिने निष्कर्षम हामी अनौपचारिक छलफलबाट पुगेका छौं,’ छलफलमा सहभागी एक सांसदले भने ।

 

 

बैठकमा सहभागी निवर्तमान सांसद तथा कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णले मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे अनौपचारिक छलफल गरेको जानकारी दिए ।

 

 

साथीहरूबीच पछिल्लो राजनीतिक अवस्थाबारे अनौपचारिक छलफल भएको ,त्यस्तो कुनै निष्कर्ष ननिस्किएको बताइएकाे छ। 

 

 

सर्वोच्चको अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ २१ र २८ गते गरेको मन्त्रिपरिषद् विस्तारमा जसपाका तर्फबाट मन्त्री भएका ९ जना र राज्यमन्त्री भएका दुई जनालाई पदमुक्त गर्न अन्तरिम आदेश दिएको थियाे ।