साउनको पहिलो सोमबार पशुपतिनाथमा भीड ( फोटो फिचर )

काठमाडौँ । भगवान शिवको प्रिय महीना मानिने साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । कोरोनाका कारण मन्दिर बन्द गरिए पनि भक्तजनहरुको उल्लेख्य उपस्थिति छ ।

 

बिहानैदेखि मन्दिर परिसरमा भक्तजनहरु शिव पूजनका लागि फूलमाला र अक्षता बोकेर पशुपतिनाथ पुगेका थिए । मूल मन्दिर बन्द भएका कारण भक्तजनहरुले पूजा गर्न पाएनन् । तर भक्तजनहरुले वरपरका मन्दिर परिक्रमा र मूर्ति पूजा गर्दै शिवलिङ्गमा जल चढाएर महादेवको पूजा गरेका छन् ।

 

यस्तै नारीहरूले साउन महिनामा हरिया पहिरन, रङ्गीचङ्गी शृङ्गार, हातमा मेहेन्दी, गलामा पोते, सिउँदोमा रातो सिन्दुरमा सजिएर शिवको व्रत बसी पतिव्रता धर्म उच्च रहोस्, प्रेम अखण्डित रहोस्, पारिवारिक सुख शान्ति कायम रहोस् भनी शिवको सकाम उपासना गर्छन् ।