यात्रुबाहक बस दुर्घटना हुँदा एकको मृत्यु, १३ यात्रु घाइते

काठमाडौँ । सिराहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गए राति भएको दुर्घटनामा १३ यात्रु घाइते भएका छन्।

 

जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा२ख ७१ नम्बरको बस पल्टिँदा बसमा सवार बरियारपट्टि गाँउपालिका–३ निवासी ३५ वर्षीय गणेश मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ। तीव्रगतिमा गइरहेको बस अनियन्त्रित भई दुर्घटना हुँदा मुखियाको घटनास्थलमै मृत्यु भएको जनाएको छ।

 

दुर्घटनामा परी घाइते भएका १३ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै चालक फरार रहेकाले खोजीकार्य जारी रहेको जनाएको छ।