ओली पक्षका कार्यकर्ताले गरेका नाराबाजी आपत्तिजनक भन्दै तत्काल बन्द गर्न माधव पक्षको माग

काठमाण्डौ । नेकपा एमाले वरिष्ठ नेता माधव नेपाल पक्षले ओली पक्षका कार्यकर्ताले गरेका प्रदर्शन र उग्र क्रियाकलाप तत्काल रोक्न आग्रह गरेको छ ।

 

नेपाल पक्षको बुधवार बसेको स्थायी कमिटीको बैठकले एकता प्रक्रिया चलिरहेको अवस्थामा वरिष्ठ नेता माधव नेपाल सहितका नेताहरु विरुद्ध भइरहेको नाराबाजी लगायतका गैर राजनीतिक क्रियाकलाप आपत्तिजनक भएकाले त्यसलाई रोक्न आग्रह गरेको हो ।

 

आफ्नै पार्टीका नेताहरूलाई धम्की दिने, शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदलाई आतङ्कित पार्ने लगायतका गतिविधि हुनु दुःखद भएको भन्दै तत्काल बन्द गराउन अध्यक्ष ओलीको ध्यानाकर्षण गराएको नेता रघुजी पन्तले जानकारी दिए ।

 

पार्टी एकताका लागि दुवै पक्षका नेताहरूले बनाएको १० बुँदे प्रस्तावलाई ओली पक्षको केन्द्रीय कमिटीले समेत अनुमोदन गरिसकेको अवस्थामा फेरि स्पष्टीकरण सोध्नु र कारबाहीको धम्की दिनु एकता भङ्ग गर्ने मनसाय भएको पनि पन्तले बताए ।