‘द हन्ड्रेड’ खेल्न नपाएपछि सन्दीप नेपाल फर्किँदै

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य तथा ग्लोबल आइकन सन्दीप लामिछाने गत असार २४ गते इङ्ग्ल्यान्ड प्रस्थान गरेका थिए । ओभल इन्भिसिबलबाट ‘द हन्ड्रेड’ खेल्न इङ्ग्ल्यान्ड पुगेका उनले प्रतियोगिता सुरु नहुँदै नेपाल फर्किनुप¥यो ।

 

‘टायर ५’ भिसामा गत असार तेस्रो साता इङ्ग्ल्यान्ड पुगेका सन्दीपले १० दिने क्वारेन्टाइन पूरा गरेर द हन्ड्रेड खेल्न मङ्गलबार नै अभ्यासमा फर्किनुपर्ने थियो । तर ‘द हन्ड्रेड’मा सहभागी हुन अर्को भिसा आवश्यक पर्ने भएपछि उनले प्रतियोगिता सुरु नहुँदै नेपाल फर्किनु परेको हो ।

 

‘द हन्ड्रेड’ फ्रेञ्चाइज लिग बुधबारबाट इङ्ग्ल्यान्डमा सुरु हुँदै छ । इङ्ग्ल्यान्ड क्रिकेट बोर्डको आयोजनामा सुरु हुने फ्रेञ्चाइज क्रिकेट लिगका लागि सन्दीपलाई ओभल इन्भिसिबलले अनुबन्ध गरेको थियो । तर, प्रतियोगिता खेल्न नपाएपछि सन्दीपले निराशा पोख्दै भिसाकै कारण ‘द हन्ड्रेड’ खेल्न नपाउनु लाजमर्दो भएको समेत बताएका छन् । ‘प्रतियोगिता खेल्न नपाएको दुःख लागेको छ’, उनले भनेका छन्, ‘भिसाकै कारण द हन्ड्रेड खेल्न नपाउनु एउटा लाजमर्दो अवस्था हो ।’

 

सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले एक प्रतियोगिताका लागि लिइएको भिसामा अर्को प्रतियोगितामा खेल्न नपाउने बताइएपछि सन्दीप आजै स्वदेश फर्किन लागेको बताए । ‘टायर ५’ भिसा अस्थायी ‘वर्क पर्मिट’ बोकेको भिसा हो । यसअघि आयोजकले पनि एउटै भिसाले खेल्न पाउने बताएको भएपनि अहिले समस्या देखिएको उनको भनाइ छ ।

 

सन्दीपलाई ओभल इन्भिसिबलले ६० हजार पाउन्डमा खरिद गरेको थियो । सन्दीप खेल्ने नभएपछि उनको स्थानमा ओभल इन्भिसिबलले तब्ररैज सम्सीलाई खेलाउन सक्ने बताइएको छ । यसअघि पनि भिसाकै कारण खेल्न पाएनन् प्रतियोगिता

 

सन्दीपले यसअघि भाइटलिटी ब्लास्ट खेल्न गत जेठ महिनामै इङ्ग्ल्यान्ड पुग्नुपर्ने थियो । तर जारी भएको भिसा आउन ढिलाइ भएपछि उनले भाइटलिटी ब्लास्ट पनि गुमाउनुपरेको थियो । उक्त भिसामा नै उनी द हन्ड्रेड खेल्न बेलायत पुगेका थिए ।