त्रिविमा दुई वर्षदेखि रोकिएका परीक्षा आजबाट शुरु

काठमाडौँ । कोरोना महामारीका कारण झण्डै दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आजबाट शुरु भएको छ । आइतबारबाट स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा भौतिक रुपमा शुरु भएको हो ।

 

आजबाट बीए, बीएड र बीएससीतर्फका चार वर्षेरतीन वर्षे परीक्षा शुरु भएको परीक्षा नियन्त्रक पुष्पराज जोशी बताए । भोलिबाट व्यवस्थापन संकायका परीक्षाहरु शुरु हुनेछन् ।

 

कोरोना महामारीका कारण त्रिविले अनलाइन प्रणालीबाट परीक्षा फारम भर्ने व्यवस्था मिलाएको थियो । तर, प्रवेशपत्र प्रिन्ट गर्ने बेला फोटो र पूरा विषय नआएको, केन्द्र परिवर्तन नभएको जस्ता समस्या परीक्षार्थीहरुले भोगेका छन् ।

 

केही प्राविधिक समस्या आएको स्वीकार्दै परीक्षा नियन्त्रक जोशीले अहिले नागरिकता वा परिचय खुल्ने अन्य परिचयपत्र हेरेर सहज रुपमा परीक्षा दिने व्यवस्था मिलाउन केन्द्राध्यक्षहरुलाई भनिएको र नमिलेका अन्य कुराहरु विद्यार्थीहरुको निवेदनको आधारमा मिलाइने बताए ।