अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटको वरीयतामा नेपालले आयरल्यान्डलाई उछिन्यो !

काठमाडौँ । अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटको वरीयतामा नेपालले आयरल्यान्डलाई उछिनेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आइतबार जारी गरेको नयाँ वरीयतामा नेपालले आयरल्यान्डलाई उछिनेको हो ।

 

नयाँ वरीयतामा नेपाल एक स्थान माथि उक्लिँदै १२औं स्थानमा पुगेको छ । आयरल्यान्डलाई उछिनेपछि एशोसिएट राष्ट्रहरूमा नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टीको वरीयतामा शीर्ष स्थानमा पुगेको छ । नेपालभन्दा माथि सबै टेस्ट खेल्ने राष्ट्रहरू छन् ।

 

आयरल्यान्डले दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टी–ट्वान्टी शृङ्खां हारेपछि उसको वरीयता खस्केको हो । नेपाल भने पछिल्लो तीन महिनायता कुनै अन्तर्राष्ट्रिय प्रतिस्पर्धा खेलेको छैन ।

 

नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसिया सम्मिलित टी–ट्वान्टी शृङ्खां जितेयता निरन्तर विश्व वरीयतामा उक्लिँदै आएको छ । नेपालभन्दा आयरल्यान्डको अङ्क बढी भएपनि रेटिङ्ग्स समान छ । नेपाल र आयरल्यान्ड दुवैको रेटिङ्ग्स समान एक सय ८७ छ ।

 

नयाँ वरीयताअनुसार इङ्ग्ल्यान्ड शीर्ष स्थानमा भने दोस्रो स्थानमा भारत, तेस्रो स्थानमा न्युजिल्यान्ड, चाथो स्थानमा पाकिस्तान र पाँचौँ स्थानमा अस्ट्रेलिया रहेको छ । दक्षिण अफ्रिका छैटौँ, अफगानिस्तान सातौँ, वेष्ट इन्डिज आठौँ, श्रीलङ्का नवौं, बङ्गलादेश १०औँ स्थानमा छ ।