वैदेशिक रोजगारः अनिच्छित गर्भ रहेर हुने मानसिक तनाव कम गर्न अस्थायी साधनको प्रयोग बढ्दै

काठमाडौं। रसुवाको कालिका गाउँपालिका वडा नम्बर २ की सुस्मिता सापकोटाको श्रीमान अबको पाँच महिनापछि नेपाल आउँदै छन्।

 

 

उनको श्रीमान् कामको सिलसिलामा कतार गएको १७ महिना भयो। उनको यसअघि नै दुईवटा बच्चा भइसकेको छ। अब अर्को सन्तान जन्माउने यो दम्पतिमा चाहाना पनि छैन। श्रीमान घर फर्कने दिन नजिकिँदै जाँदा उनमा उत्साह छाएको छ।

 

 

उनले फोनवार्ताको क्रममा भविष्यको योजनाबारे श्रीमानसँग छलफल गरिरहेकी हुन्छिन्। यसैबीच उनले परिवार नियोजनको तयारी तथा साधनको विषयमा श्रीमानसँग छलफल गरिसकेकी छिन्।

 

 

 

‘श्रीमानसँग परिवार नियोजनको अस्थायी साधन प्रयोगबारे सल्लाह गरेको छु’, उनले भनिन्, ‘उहाँ आउनुभन्दा केही अगाडि अस्थायी साधन प्रयोग गर्छु।

 

 

कालिका वडा नम्बर २ कै ममता विश्वकर्माको श्रीमान कामको सिलसिलामा कतार गएका थिए। दुई वर्ष त्यहाँ बसेर उनी घर फर्किए। श्रीमान फर्कनुअघि उनले अस्थायी साधन प्रयोग गर्ने कुराबारे श्रीमानसँग सल्लाह गरिन्।

 

 

 

कुराकानी भएपछि डिपो लगाउने सहमति भयो। श्रीमान आउनुभन्दा १५ दिन अगाडि अस्थायी साधन प्रयोग गरेको उनले बताइन्। अस्थायी साधन प्रयोगपछि उनलाई कुनै कठिनाइ भएन।

 

 

 

अस्थायी साधनको प्रयोग गरेपछि अर्को बच्चा रहने कुरै भएन’, उनले भनिन्, ‘काखमा रहेको बच्चालाई हुर्काउन बढाउन सहज भयो।

 

 

 

यस्तै जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ६ का सोनाम तामाङ दुवईमा ५ वर्ष बसेर नेपाल फर्किए। नेपाल आउने बितिक्कै बच्चा जन्माउन हुँदैन भन्ने उनलाई लागेको थियो।

 

 

 

‘फरक फरक परिवार नियोजनका साधनहरूको प्रभावकारिता तथा प्रयोग गर्ने उपयुक्त समय भिन्नाभिन्नै हुने भएकाले उचित समयमा नै हामीले साधनको प्रयोग गरेका थियौं’, उनले भने।

 

 

 

‘म घर आउन लागेको छु घरमा अर्को बच्चा पनि छ, केही वर्ष बच्चा नजन्माउँदा राम्रो हुन्छ’ भनेर सल्लाह गरेको उनले सुनाए। यसले दम्पतिको जन्मान्तरमा फरक भयो।

 

 

 

उनलाई नेपाल आएर व्यवसाय सुरु गर्न सहज भयो। उनले आउनुअघि श्रीमतीलाई घरबाट केही टाढा रहेको रसुवा अस्पतालमा गएर डिपो लगाउन आग्रह गरेका थिए।

 

 

कामको सिलसिलामा विदेश गएका दम्पतिबीच घर फर्कने क्रममा सामान्यतः कोसेली पातको विषयमा कुराकानी हुन्छ। उपहार के ल्याइदिऊँ भन्ने बारेमा नै छलफल हुन्छ।

 

 

तर पछिल्लो समय घर फर्कने बेलामा कोसेलीपात तथा उपहार बाहेक परिवार नियोजनको अस्थायी साधनको विषयमा पनि कुराकानी हुन थालेको छ।

 

 

 

परिवार नियोजनको साधन अक के प्रयोग गर्ने तथा कहिलेबाट प्रयोग गर्ने भन्ने विषयमा पनि कुराकानी हुन थालेको पाइन्छ।

 

 

केही समय अघिसम्म कामका लागि बाहिर गएका दम्पतिहरूबीच सन्तान जन्माउने सम्बन्धमा छलफल कम हुने गरेको थियो।

 

 

कामका लागि बाहिर भएका दम्पतिहरू बीच घर फर्किनु अगाडि परिवार योजना सम्बन्धी तयारी कम हुने यस्ता दम्पतिले परिवार नियोजनका साधनको प्रयोग नगर्दा अनिच्छित गर्भ रहेर मानसिक तनाव तथा अन्य झन्झट झेल्दै आएका छन्।

 

नागरिक दैनिकमा खबर छ।