जसपा संसदीय दलको नेतामा यादव

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको नेता चुनेको छ । आज बसेको दलको बैठकले अध्यक्ष उपेन्द्र यादवलाई दलको नेता चयन गरेको हो ।

 

 

पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा अध्यक्ष यादवलाई संसदीय दलको नेता चयन गरेको सांसद् मोहम्मद इस्तियाक राईले बताए ।

 

 

नेता चयनका लागि साउन १२ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले नवराज सुवेदीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य छन् ।

 

 

राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टी एकीकरण भएर जसपा बने पनि संसदीय दलको नेता चयन भएको थिएन । जसपामा विवाद बढेपछि अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो ।

 

 

तर‚ गत साउन ११ गते निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिएपछि संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाइएको हो । केही दिनअघि जसपाले संसदीय दलको विधान पनि पारित गरेको थियो ।