अफगानिस्तानमा गत राति विमानस्थलमा हानियो रकेट

काठमाडौँ । दक्षिणी अफगानिस्तानको कान्दहारमा शनिबार राति विमानस्थलमा रकेट प्रहार भएका छन्।

 

कान्दहार विमानस्थलका प्रमुख मसुद पस्तुनले विमानस्थललाई लक्षित गरी तीन वटा रकेट प्रहार भएको समाचार संस्था एएफपीलाई जनाएका छन्।

 

‘गतराति विमानस्थलमा रकेट आक्रमण भयो, जसमध्ये दुई वटा धावनमार्गमा खसे। अहिले कान्दहार विमानस्थलको सेवा स्थगित भएको छ,’ उनले भनेका छन्। उनका अनुसार अहिले धावनमार्ग मर्मतको काम भइरहेको र छिट्टै उडान(अवतरण सुरू हुने उनले जानकारी दिए।

 

केही दिनअघि इदको प्रार्थना गरिरहेका बेला राष्ट्रपति भवनलाई लक्षित गरी रकेट हानिएको थियो। पछिल्लो समय विद्रोही समूह तालिबानले अफगानिस्तान भरी आक्रमण बढाएको छ। अमेरिकी र नाटो सैनिक फर्किएसँगै तालिबानले अधिकांश ग्रामीण क्षेत्रमा नियन्त्रण जमाएको छ।

 

अब उसले सहरलाई आफ्नो निशाना बनाएको छ। तालिबान अहिले पश्चिमको हेरात र दक्षिणको लास्कर गाह प्रान्तका राजधानी कब्जाको नजिक पुगेको छ। ठाउँ- ठाउँमा सरकारी सुरक्षाकर्मी र तालिबान लडाकुबीच भिडन्त हुँदा हजारौं मानिस विस्थापित भएका छन्।