सप्तरीमा शतप्रतिशत धान रोपाइँ, ९०० बिघा डुबानमा

काठमाडौँ । यस वर्ष मनसुन छिट्टै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि सप्तरीमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । असारको पहिलो साताबाट धान रोपाइँ शुरु भएर अहिले जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।

 

 

विगतका वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यस वर्ष उचित समयमा वर्षा भएकाले शतप्रतिशत धान रोपाइँ सकिएको हो । कृषि ज्ञान केन्द्रका अनुसार धानखेतीका लागि करिब ७० हजार ५०० हेक्टर जग्गा रहेको सप्तरीमा यस वर्ष ५९ हजार हेक्टरमा धान रोपाइँ भएको छ ।

 

 

जिल्लाको उत्तरी भेगमा चुरे जङ्गल र बाँझो जमिन हुने भएकाले त्यस ठाउँमा धानखेती गर्न गाह्रो हुने गरेको छ । केन्द्रका प्रमुख राजेन्द्रप्रसाद यादवले जिल्लाको १८ वटै स्थानीय तहमा धानखेती भएको भन्दै समयमा वर्षा भएका कारण शतप्रतिशत धान रोपाइँ भएको बताए ।

 

 

यस वर्ष विभिन्न खोला तथा नदीमा आएको बाढीका कारण ९०० बिघा जग्गामा रोपाइँ गरिएको धान डुबानमा परेको छ भने २०० बिघा जग्गाका कटानसमेत भएको उनले जानकारी दिए । ‘सधैं आकाशे पानीबाट निर्भर रहेको यस वर्ष समयमा वर्षा भएको र पानीसँगै विभिन्न नदी र खोलामा आएको बाढीका कारण ६०० हेक्टर जग्गा डुबान भएर क्षतिसमेत भएको छ,’ उनले भने ।

 

 

सप्तरीका तिलाठी कोइलाडी, बलानबिहुल र तिरहुत गाउँपालिका तथा कञ्चनरुप र सप्तकोशी नगरपालिकामा लगाइएको धानबाली डुबानबाट क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । उक्त ठाउँमा बाढीले केही धानखेत कटानसमेत गरेको छ । यस वर्ष करिब ९९ हजार बिघा जग्गामा धान रोपाइँ गरिएको र धान उत्पादनसमेत बढ्ने केन्द्रका प्रमुख यादवले बताए ।

 

 

यसरी नै समयमा वर्षा भइरहे उब्जनीसमेत राम्रो हुने उनको भनाइ छ । सप्तरी जिल्लामा सिञ्चित ४० हजार र असिञ्चित ३० हजार हेक्टर गरी कुल ७० हजार हेक्टर खेतीयोग्य जग्गा रहेकोमा ५९ हजार २५७ हेक्टर जग्गामा धानखेती हुँदै आएको छ । जिल्लामा रहेको नेपालकै पुरानो चन्द्रनहरको उचित व्यवस्थापन नगरेकाले आकाशे पानीको भरमा यहाँ खेती हुने गरेको छ । साथै सानासाना नहरसमेत मर्मत नहुँदा सप्तरी जिल्लामा सिँचाइ सुविधाबाट किसान बञ्चित रहेको जनाइएको छ ।

 

 

हनुमानगर कंकालनी नगरपालिका–२ सकरदहीका किसान लाल माझीले जिल्लामा रहेको कोशी ब्यारेजबाट निस्केको पश्चिमी नहर र चन्द्रनहरमा धान र गहुँखेतीको समयमा पानी सुविधा पुर्‍याउन नसकिएका कारण खेती गर्न कठिनाइ हुने गरेको गुनासो गरे । खासगरी वर्षाकै भरमा हामी खेती गर्दै आएको बताउँदै यी नहरलाई मर्मतसम्भार र समयमा पानी नदिएका कारण खेतीपातीमा ह्रास आउन थालेको कृषकको भनाइ छ ।

 

नेपालमा कुल धान उत्पादनको ४० प्रतिशत उत्पादन प्रदेश २ मा हुँदै आएको छ । गत वर्ष प्रदेशमा १४ लाख २० हजार ४३६ टन धान उत्पादन भएको भूमि व्यवस्था तथा कृषि मन्त्रालयले जनाएको छ ।