तुइन काटेर युवालाई मारिँदा पनि सरकारले भारतसँग कुरा गर्न नसक्नु विपी कोइरालाकै अपमान : कोमल वली

काठमाडौं । राष्ट्रिय सभा सदस्य कोमल वलीले दार्चुला घटनामा सरकारले एक शब्द पनि बोल्न नसकेको भन्दै यसले कांग्रेसका संस्थापक वीपी कोइरालाकै अपमान भएको टिप्पणी गरेकी छिन् ।

 

शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै वलीले जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको र समिति बनाएर टार्न खोजेको आरोप लगाइन् ।

 

वीपी कोइरालाले छिमेकी देश भारत र चीनसँग ठाडै सम्वाद गर्ने गरेको स्मरण गराउँदै यस विषयमा सरकारले भारतसँग कुरा गर्न नसक्नु वीपीकै अपमान भएको उनको भनाइ थियो ।

 

वर्तमान सरकारले मुलुक चलाउन नसक्ने र जनतालाई सुरक्षा पनि दिन नसक्ने उनले बताइन् । ‘नेपाली जनताको अपमान हुँदा, तुइन काटेर युवालाई मारिँदा एक शब्द नबोल्ने ? समिति बनाएर टार्ने ? यही हो वीपीका अनुयायीहरुको चरित्र ?’ वलीले सरकारसँग प्रश्न गरिन् ।