नेपाल – भारतबीच मैत्रीपूर्ण फुटबल खेल हुने

काठमाडौँ ।नेपाली फुटबल टोलीले भारतसित आगामी महिना दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।नेपालले भदौ १७ र २० गते भारतसित मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

 

 

दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइने छ । भारतीय फुटबल सङ्घले मैत्रीपूर्ण खेलका लागि एन्फासित प्रस्ताव राखेको हो । उक्त प्रस्ताव एन्फाले स्वीकार गरेको छ ।

 

 

 

नेपालले १३औँ दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) आयोजना गर्नका लागि समेत प्रस्ताव अघि बढाएको छ । उक्त प्रतियोगिता अघि नेपालले भारतसित मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।

 

 

 

बङ्गलादेशले कोरोना महामारीका कारण साफ च्याम्पियनसिप आयोजन गर्न नसक्ने जनाएपछि नेपालले सो प्रतियोगिता आयोजना गर्न इच्छा देखाएको हो ।

 

 

 

नेपालमा आगामी अक्टोबरमा १३औँ संस्करणको साफ च्याम्पियनसिप गर्न एन्फाले साफलाई पत्र पठाएको छ । नेपालले यसअघि सन् १९९७ र सन् २०१३ मा साफ च्याम्पियनसिप आयोजना गरिसकेको छ ।