तालिबान विद्रोहीद्धारा दोस्रो प्रान्तीय राजधानी कब्जा

काठमाडौँ । तालिबान विद्रोहीहरूले सेबेरघान सहरमाथि कब्जा जमाएका छन् । विद्रोहीले २४ घण्टाभित्र दोस्रो प्रान्तीय राजधानीमाथि कब्जा जमाएको सहरका डेप्यूटी गभर्नरले जानकारी दिएका छन् ।

 

जवजान प्रान्तको राजधानी सेबेरघनका डेप्यूटी गभर्नर कादेर मालियाका अनुसार सरकारी फौज र अधिकारीहरू यति बेला उत्तरी अफगान सहरको विमानस्थलमा एकीकृत भएका छन् । उनीहरूले त्यहाँ आफूलाई जोगाउने प्रयास गरिरहेका छन् । ‘दुर्भाग्यवश सहर ढल्यो,’ मालियाले एएफपीलाई भने, ‘सरकारी फौज र अधिकारी भागेर विमानस्थलमा पुगेका
छन् ।’

 

तालिबानले पनि सेबेरघन सहर आफ्नो कब्जामा आएको विज्ञप्ति जारी गरेको छ । सरकारले भने तालिबानले सहरमा पूर्ण रूपमा नियन्त्रण कायम गरिनसकेको दाबी गरेको छ । गृह मन्त्रालयले ‘काउन्टर’ कारबाही गर्नका लागि त्यस क्षेत्रमा थप सेना, विशेष फौज पठाउनुका साथै हवाई कारबाही पनि सुरु गरिएको बताएको छ ।

 

प्रान्तीय काउन्सिलर विस्मिल्लाह साहिलले तालिबानले गर्भनरको कार्यालय, प्रहरी हेडक्वार्टर र केन्द्रीय कारागारमा कब्जा गरेको बताएका छन् । सरकारी फौजले विमानस्थल लगायत स्थानमा विद्रोहीसँग भिडन्त गरिरहेको जवजानका सांसद करिम जवजानीले जानकारी दिएका छन् ।

 

यो सहर कुख्यात अब्दुल रसिद दोस्तुमको पनि घर हो । उनी गत हप्ता मात्र टर्कीमा उपचारपछि फर्किएका थिए । उनीसँग उत्तरमा ठूलो मिलिसिया रहेको छ । सन् १९९० मा तालिबानविरुद्धको लडाईंका लागि उनी चर्चित छन् । शनिबार दोस्तुमले अफगानिस्तानका राष्ट्रपति असरफ घानीलाई भेट गरेका थिए ।

 

अमेरिकी सेना फर्किएसँगै तालिबानले अफगानिस्तानका अधिकांश ग्रामीण क्षेत्रमा कब्जा जमाइसकेको छ । यति बेला तालिबानले सहर केन्द्रित कारबाहीहरू गरिरहेको छ । शुक्रबार मात्र तालिबानले निमरुज प्रान्तको राजधानी जारान्जमाथि कब्जा जमाएको थियो ।