भोली दोस्रो मात्रा लगाउन छुटेका नागरिकले खोप पाउने

काठमाडौँ । भोली सोमबारबाट दोस्रो मात्रा लगाउन छुटेका नागरिकले खोप पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्डको दोस्रो मात्रा लगाउन छुटेका नागरिकलाई साउन २५ र २६ गते अस्ट्राजेनेका खोप दिने भएको हो ।

 

जापानले कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध गराउने भनेको १६ लाखमध्ये ५ लाख डोज खोप शनिवार काठमाडौं आइपुगेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ५ लाख १३ हजार ४२० खोप प्राप्त भएको जानकारी गराउँदै आइतबार थप ५ लाख खोप आइपुग्ने बताएका छन् ।

 

सोमबारदेखि हाल खोप उपलब्ध गराइरहेका खोप केन्द्रबाट कोभिशिल्ड लगाएका ६५ वर्षभन्दा माथिका नागरिकलाई लगाउने निर्णय गरिएको स्वास्थ्य सेवा विभागअन्तर्गत खोप केन्द्रका प्रमुख झलक शर्मा गौतमले जानकारी दिए ।

 

सरकारले गतवर्ष फागुन २३ देखि चैत ३ गतेसमम ६५ वर्षमाथिका वृद्धलाई कोभिशिल्ड खोप लगाएको थियो । उनले अस्ट्राजेनेका र कोभिशिल्ड फरक ठाउँमा उत्पादन भएपनि दुवै खोप एकै प्रकृतिको भएको बताउँदै उक्त खोप दिन लागिएको बताए ।