न्यादी हाइड्रोपावरले १८ लाख कित्ता सेयर निष्काशन गर्दै

काठमाडौँ । न्यादी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय र संस्थागत लगानीकर्ताको लागि कुल १८ लाख कित्ता बराबरको साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

 

लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्र मर्स्याङ्दी गाउँपालिका ३, ६, ७ र ८ वडाका स्थानीयलाई ५ लाख र जिल्लाको अन्य स्थानीयलाई १० लाख कित्ता गरी १५ लाख र बाँकी रहेको ३ लाख कित्ता सेयर कम्पनीले संस्थाको संस्थापक सेयरधनी कर्मचारीलाई वितरण गर्न लागेको हो ।

 

उक्त सेयर आउँदो भदौ १ गतेदेखि निष्काशन गर्ने कम्पनीले जनाएको छ । उक्त सेयरका लागि सर्वसाधारण लगानीकर्ताहरूले प्रतिकित्ता १०० रुपैयाँ दरले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

 

भदौ १ गतेदेखि खुल्ने उक्त सेयरमा लगानीकर्ताले पहिलो चरणमा भदौ १५ गतेसम्ममा र तोकिएको अवधिमा माग बमोजिम आवेदन नपरेको खण्डमा भदौ ३० गतेसम्म आवेदन दिन सकिने छन् ।

 

साथै, कम्पनीले कम्पनीका संस्थापक लगानीकर्ताहरु बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीलाई ३ लाख कित्ता सेयर छुट्याइएको छ ।