‘जन्मिँदा संसारकै सबैभन्दा सानी शिशु’ १३ महिनापछि अस्पतालबाट घर लगियो

काठमाडौँ । पच्चीस साता पनि नपुगी जन्मिएकी संसारकै सानी शिशु १३ महिनाको सफल उपचार पछि अस्पतालबाट घर लगिएकी छन् । उनको नाम क्वेक यु सुआन हो ।

 

उनी सिङ्गापुरको न्याश्ननल यूनिभर्सिटी हस्पिटल (एनयूएच) मा पाँच महिनामै जन्मिएकी हुन् । जन्मिँदा क्वेक यु सुआनको तौल २१२ ग्राम अर्थात् एउटा स्याउको जति र लम्बाइ २४ सेन्टिमिटर थियो। तर, अहिले यु सुआनको तौल छ किलो ३०० ग्राम पुगेको छ।

 

कसरी भयो उपचार ? 

 

अस्पतालमा हुँदा यु सुआनलाई विभिन्न किसिमका उपचार गरियो। उनको जीवन रक्षार्थ विभिन्न किसिमका उपकरणहरू प्रयोग भएका थिए।

 

चिकित्सकहरूले आफ्नो सेवाबाट ती शिशुको स्वास्थ्य तथा विकासमा राम्रो सुधार आएको र अहिले अस्पतालबाट डिस्चार्च गर्न उपयुक्त भएको बताए।

 

यु सुआनलाई अझै फोक्सोसम्बन्धी दीर्घ समस्या छ र उनलाई घरमा श्वासप्रश्वासका लागि सहयोग चाहिन्छ। तर, एनयूएचका चिकित्कहरूका अनुसार उनी समयक्रममा बिस्तारै ठिक हुने अपेक्षा गरिएको छ।

 

आफ्नो जेठो छोरो समय पुगेर जन्मिएकाले यु सुआनको जन्म र आकारका कारण आफू चकित भएको आमा वोङ मेई लिङले स्थानीय सञ्चारमाध्यमलाई बताएकी छन्।

 

यु सुआानको उपचारका लागि क्राउडफन्डिङबाट दुई लाख ६६,८८४ सिङ्गापुर डलर सङ्कलन गरिएको थियो।