एमालेमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुने प्रस्ताव

 

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ ।

 

तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको एमालेका उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए । पार्टीले उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल गठन गरेको थियो ।

 

कार्यालय सचिव शेरबहादुर तामाङ्ले पारित गरिएको प्रस्ताव केन्द्रीय कमिटीमा पेश गर्ने बताए । उनका अनुसार संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाइ पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ ।

 

कार्यालय सचिव तामाङ्ले अध्यक्ष र महासचिव बाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने नयाँ व्यवस्था संशोधित विधानमा प्रस्ताव गरिएको जानकारी दिए।