छानबिन टोली दार्चुलाबाट फर्कियो , बेपत्ता धामीको अवस्था भने अझै अज्ञात

धनगढी । महाकाली नदीमा तुइन तर्ने क्रममा एसएसबीले डोरी काटिदिएपछि खसेर युवक बेपत्ता भएको घटनाको छानबिन गर्न खटिएको टोली फर्किएको छ ।

 

घटनाको छानबिनका लागि गृह मन्त्रालयले खटाएको सहसचिव जनार्दन गौतम नेतृत्वको टोली सोमबार दार्चुलाबाट फिर्ता भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहरप्रसाद भट्टले छानबिनका क्रममा गर्नूपर्ने काम सकेर गृहको टोली फर्किएको जानकारी दिए ।

 

झण्डै ८ दिनसम्म दार्चुलामै बसेको टोलीले नदीमा बेपत्ता भएका व्याँस गाउँपालिका – २ का जयसिंह धामीको परिवारदेखि अन्य सरोकारावाला पक्षबीच भेटघाट गरेर छलफल गरेको थियो ।

 

१५ साउनमा भारतीय भूमिको प्रयोग गरेर सदरमुकाम खलंगा आउने बेला महाकाली नदीमा तुइन तर्ने क्रममा भारतीय एसएसबीले डोरी काटि दिएपछि खसेर व्याँस गाउँपालिका – २ का ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए ।

 

उक्त घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानबिन टोली गठन गरेको थियो । तर बेपत्ता धामीको अवस्था भने अझै अज्ञात छ ।