अध्याँरो सुरुङमा छिर्दैनौं,शिर निहुराउदैनौं र कसैको टाङमुनि छिर्ने छैनौँ :नेता नेपाल

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जानीजानी अध्याँरो सुरुङमा नछिर्ने बताएका छन्। ‘शिर निहुराउने छैनौँ, कसैको टाङमुनि छिर्ने छैनौँ, साहसी र बहादुरहरूको मात्रै कदर हुन्छ,’ उनले भने।

 

 

एमालेका अध्यक्ष केपी ओलीको नाम नलिई अध्याँरो सुरुङमा नछिर्ने उनको भनाइ छ। एमालेको विवाद मिलाउने कसरत भैरहेका बेला वरिष्ठ नेता नेपालको अभिव्यक्ति आएको हो ।

 

 

आफूनिकट अनेरास्ववियुले एमबिबिएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्यााएका आशिष झाको सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले सो कुरा बताएका हुन्।

 

 

उनले कर्णाली प्रदेशमा ‘साहस र बहादुरी देखाएका’ नेताहरूलाई फेरि चुनाव जिताएर ल्याउने जिम्मा आफ्नो भएको समेत बताएका थिए।

 

 

 

‘कर्णालीका साथीहरूले बहादुरी देखाउनुभयो, कायरता देखाउनु भएन, उहाँहरूले जितेको पद धरापमा छ, खोसिएको छ, अब पार्टी सदस्यता पनि खोसियो भने, त्यहाँ फेरि उपचुनाव भयो भने उहाँहरूलाई जिताएर ल्याउने जिम्मा मेरो भयो,’ नेता नेपालले भने। नेता नेपालले दम्भी अहंकारीलाई परास्त गर्ने दाबीसमेत गरे।

 

 

 

‘हामी अगाडि बढ्छौं, दृढताका साथ अघि बढ्छौं, शिर निहुराउने छैनौं, कसैको टाङमुनी छिर्ने छैनौं, अँध्यारो सुरुङमा जानेवाला छैनौं, दम्भी, अहंकारी र गलत ढंगले चल्नेहरूलाई चुनौती दिएर नै तिनलाई माथ गरेरै अगाडि बढ्नेछौं,’ एमालेका वरिष्ठ नेता नेपालले भने।

 

 

 

उनले कर्णालीका सांसदहरूलाई साहसीको उपमा दिने सन्दर्भमा सो कुरा बताएका हुन्। माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको सरकार जोगाउन एमालेका चार जना सांसदले फ्लोर क्रस गरेर शाहीलाई विश्वासको मत दिएका थिए।

 

 

उनीहरूलाई एमालेले सांसद र पार्टीको साधारण सदस्यताबाट निस्कासन गर्ने निर्णय गरेको थियो। सर्वोच्चले शुरुमा अन्तरिम आदेशमार्फत् त्यसमा रोक लगाए पनि पछि उनीहरूलाई कारबाही गर्ने एमालेको निर्णय सदर गरेको थियो।

नागरिक दैनिकमा खबर छ।