राज्यले शिक्षा,स्वास्थ्यलाई निःशुल्क र सर्वसुलभ बनाउनु पर्छ : हरिकृष्ण गजुरेल

 

नेकपा (क्रान्तिकारी माओवादी )  निकट अखिल (क्रान्तिकारी ) का केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलसँग सहकर्मी जयन्ती बडुवालले शैक्षिक क्षेत्रका गतिविधिबारे गरेको विशेष कुराकानी :-

 

१. तपाई विद्यार्थी संगठनको अध्यक्ष भएको हैसियतले शैक्षिक क्षेत्रको समस्यालाई कसरी हेर्ने गर्नु हुन्छ ?

 

शिक्षा क्षेत्रमा अहिले देखिएका समस्याहरू विगतदेखि नै कायम छन् । राज्यले जुन ढङ्गले शिक्षा क्षेत्रका समस्यामा पहलकदमी लिनुपर्ने थियो । त्यो पहलकदमी लिन सकेको छैन् । यस्तै शिक्षा क्षेत्र व्यापारीकरण, निजीकरण र दलालीकरण हुँदै माफियाहरूको कब्जामा परेको छ ।

 

अहिले शिक्षा, स्वास्थ्य क्षेत्र सबै भन्दा बढी गम्भिर मोडमा पुगेको छ। आम जनताहरूले जुन ढङ्गले शिक्षा, स्वास्थ्य क्षेत्रबाट सुविधा पाउनु पर्ने हो । त्यो पाउन सक्ने अवस्था अहिले पनि छैन् । यसरी हेर्दा राज्य आफ्नो जिम्मेवारीबाट भागेको देखिन्छ। 

 

सर्वसाधारण नागरिकले शिक्षा, स्वास्थ्यमा सबै लगानी गर्दा पनि नपुग्ने स्थिति पैदा भई रहेको छ । यसो हेर्ने हो भने, शिक्षा क्षेत्र विकराल बन्दै गईरहेको छ । 

 

२. अखिल क्रन्तिकारीले शिक्षा, स्वास्थ्य क्षेत्रका माफियाहरू भन्दै आइरहेको छ । वास्तवमा, तपाईहरू कसलाई माफिया भन्नु हुन्छ ?

 

शिक्षा, स्वास्थ्य क्षेत्रका स्रोत साधनहरू जसले कब्जा गरेर आफ्नो निजी स्वार्थको लागि उपयोग गर्छ ? त्यसलाई हामी  माफिया भन्छौँ ।

 

उसले जनता र राष्ट्रको  निमित्त भन्दा पनि आफ्नो नितान्त व्यक्तिगत फाइदाका लागि शिक्षा, स्वास्थ्य क्षेत्रमा जाल फिजाउने काम गर्छ । उसले त्यहाँ भएका सम्पूर्ण स्रोत साधनलाई नियन्त्रणमा राख्छ । त्यसैले यो क्षेत्र अझै जटिल बन्दै जाने अवस्था भएकाले खबरदारी गरेका हौँ । 

 

३. शैक्षिक क्षेत्रलाई व्यवस्थित गर्न तपाईको संगठनले कस्तो भूमिका खेल्दै आएको छ ?

 

विगतदेखि नै अखिल क्रन्तिकारीले शिक्षा क्षेत्रमा भएका सबै प्रकारका विकृति, विसंगतिको अन्त्य गर्ने, शिक्षा स्वास्थ्य क्षेत्रलाई जनताको पहुँचमा पुर्याउने, जनताका छोरा-छोरीहरूले आफुले चाहेको विषय पढ्न पाउने वातावरण तयार गर्ने  । साथै राज्यले शिक्षा, स्वास्थ्यलाई  निःशुल्क र सर्वसुलभ गर्नुपर्छ भन्दै हामी सधै संघर्षरत छौँ । 

 

जबसम्म शिक्षा, स्वास्थ्य क्षेत्रको जिम्मा राज्यले लिन सक्ने अवस्थाको वातावरण सिर्जना हुदैन् तब सम्म हामी आन्दोलन गरि रहन्छौँ । अहिले पनि हाम्रो संघर्ष निरन्तर जारी  छ ।  

 

४. सरकारले  केहीदिन अगाडि मात्रै  कक्षा १२ को परिक्षा स्थगित गरेको छ, तपाई सरकारको यो निर्णयलाई के भन्नु हुन्छ ?

 

सरकार शिक्षा, स्वास्थ्य क्षेत्रका माफियाहरूसँग साठगाठ गरेर विद्यार्थीको भविष्य बारे बेखवर छ । विद्यार्थीहरूलाई भ्याक्सिनको व्यवस्था गर्नु पर्ने यो समयमा सरकार माफियलाई स्वास्थ्य राज्यमन्त्री बनाउने काममा व्यस्त छ । 

 

हामीले भन्दै आएका छौँ , शिक्षक, विद्यार्थी सबैलाई सरकारले कोरोना भ्याक्सिनको व्यवस्था गर्नु पर्छ । र अनि सम्पूर्ण परिक्षाहरू सञ्चालन गर्नु पर्छ । तर पनि यि सबै कुरामा सरकार चुकेको छ । 

 

आकस्मित रूपमा आएर  कक्षा १२ को परिक्षा स्थगित गर्नु भनेको लाजमर्दो कुरा हो । त्यस्तै शिक्षा , स्वास्थ्य र जनताप्रति सरकार जवाफदेही छैन् । सरकारका यस्ता गतिविधिले अब धेरै दिन टिक्ने वाला छैन् । यो सरकार पूर्ण रूपले असफल भएको छ  । 

 

देउवा प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना भई सक्दा पनि मन्त्रीपरिषद् विस्तार गर्न नसक्नु नै असफता हाे। आफ्नो मन्त्रीपरिषद् विस्तार गर्न न सक्ने सरकारले देशको पक्षमा , जनताको पक्षमा, स्वाधिन्ताको पक्षमा काम गर्न सक्छ ?

 

५. तपाईको संगठनले सम्पूर्ण नेपालीलाई शैक्षिक क्षेत्रमा निःशुल्क पहुँच हुनुपर्छ भन्दै आन्दोलन गरी रहेको थियो । तर अहिलेको यो महामारीमा विद्यालयहरूले मनपरी शुल्क अशुल्दा पनि तपाईहरू कानमा तेल हालेर बस्नु भएको छ नि ।  किन ? 

 

हामी निरन्तर अन्दोलनमा छौँ । कोभिड लहरको पहिलो चरणमा शिक्षा क्षेत्रमा भएका सबै प्रकारका विकृती विसंगतिका विषयमा हामीले आवाज उठायौँ । त्यसैगरी अहिले पनि शिक्षा क्षेत्रमा भएका विकृती विसंगतिका विरूध संघर्षमा उत्रिने पहिलो विद्यार्थी संगठन भनेको अखिल (क्रन्तिकारी) नै हो । हामी हिजो पनि आन्दोलनमा थियौँ आज पनि छौँ । 

 

राष्ट्रिय चिकित्सा आयोगको सन्दर्भलाई लिएर हामीले आन्दोलन गर्यौँ । म जनताहरूलाई स्पष्ट पार्न चाहन्छु, हाम्रो संगठन सधै विकृती विसंगतिका विरूद्ध चुप लागेर बस्दैन् । होलान कोही संगठनहरू चुपलागेर बसेका तर हामी बसेका छैनौँ । 

 

६. तपाई आन्दोलन मात्र गर्यौँ भन्नु हुन्छ । खासमा तपाईहरूको आन्दोलनले शिक्षा, स्वास्थ्य  क्षेत्रको विकृतिलाइ रोक्न सकेको छ कि छैन ?

 

शिक्षा, स्वास्थ्य पूरै अहिले माफियाहरूको जालोमा पर्ने थियो । तर हाम्रो आन्दोलनले केही हद सम्म रोक्न सफल भएको छ । अहिलेको जुन अवस्था छ नि ? त्यो हाम्रो आन्दोलनको प्रभाव हो । होइन भने, आज सरकारी संघ संस्थाहरू सबै माफियाहरूको कब्जामा पुग्थे । 

 

मुख्यत विद्यार्थी संगठनको आन्दोलन तीन करोड जनता, आम जनता र  अब आउने पुस्ताको भविष्यसँग जोडिने भएकाले यो आफैँमा ऐतिहासिक छ । वास्तवमा यो आन्दोलन आम जनताको आशाको केन्द्र पनि हो । जनताको आन्दोलनलाई अगाडि बढाउनका निमित्त त्यसको अगुवाइ गर्ने, सशक्त ढङ्गले नेतृत्वदायी भूमिका निर्भाह गर्ने जो दायित्व हो त्यो दायित्व पुरा गर्न हाम्रो आन्दोलन जारी रहन्छ । 

 

७. पक्ष-विपक्षका केही सांसदहरूले एमसीसी संशोधन गरेर पारित गर्ने भन्दै आइरहेका छन् , यसमा तपाईको धारणा के छ ?

 

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) भनेको देशको उन्नती-प्रगतिको लागि होइन । नेपाललाई कब्जा गर्ने रणनितिका साथ , जनतालाई दास बनाएर लिभिया, अपगानस्थान, सिरिया र इरान बनाउने अमेरिकी सरकारको खेल हो । केही व्यक्तिले जम्मा ५९ अर्ब नेपाली पैसामा सिङ्गो मुलुकलाई बन्धक बनाउने जुन खेल हुदै छ नि ? त्यसको हामी खुलेर विरोध गर्छौँ । 

 

जब एमसीसी नेपालमा लागु हुन्छ तब संविधान, कानुन , ऐनका सबै धाराहरू निस्क्रिय हुने र एमसीसीका धाराहरू सक्रिय हुने भएकाले यो राष्ट्रहितका पक्षमा छैन् । यो राष्ट्रघाति छ । त्यसैले यो नेपालमा कुनै पनि हालतमा पास हुन दिनु हुदैन् । 

 

यदि प्रतिनिधिसभाका सांसदहरू या सदस्यहरूले एमसीसी पास गरे भने हामी सडकमा ल्याएर पछार्ने छौँ । यदि मुलुकलाई कसैले बन्धक बनाउछ भने हामी तीन करोड जनतालाई सकडमा ल्याउछौँ । आन्दोलनको आदिभेरी सृष्टि गरेर जनताहरूले संसद भवन घेर्ने छन् । 

 

अमेरिकाले आफ्नो स्वार्थको लागि एमसीसी पारित गर्न खोजेको हो । नेपालको फाइदाका लागि होइन ? त्यसैले यो नेपालमा कुनै हालतमा पनि ल्याउनु हुदैन । यो नितान्त गलत कुरा हो । 

 

८. राष्ट्रहितका लागि नेपालमा एमसीसी पास गर्दा फाइदाजनक हुन्छ भन्ने छ नि । किन तपाईहरू विरोध  गर्नुहुन्छ  ?

 

एमसीसी राष्टहितका निमित्त कसरी फाइदाजनक हुन्छ ?  के अमेरिकाले नेपाली जनतालाई माया गरेर पैसा दिदैंछ ? यो कदापि हुनै सक्दैन । यो त अरू केहि होइन । दलाल, भ्रष्ट , माफियाहरूले त्यहाँ बाट आएको केही पैसा  आफ्नो चुनावी खर्च र स्वार्थको लागि प्रयोग गर्ने काम बाहेक अरू केही पनि गर्न सक्दैनन्  ।  

 

सरकारले एनसीएलबाट अर्बौँ, खर्बौँको कर उठाको  खोइ ? ७३ अर्ब कर तिर्नु पर्ने  क्रममा १० अर्ब राजनीतिक पार्टीका नेताहरूले घुस लिएर एनसीएललाई छुट दिने ? अनि अहिले फेरी  एमसीसी राष्ट्रहित छ भन्दे कुप्रचार गर्ने, जनतालाइ ढाट्ने र आफ्नो सत्ता जोगाउन विदेशीको पाउमा लम्पसार पर्ने ? त्यसैले एमसीसी राष्टहितमा हुनै सक्दैन् । 

 

 जनताले बुझिसकेका छन्। जनता सचेत भइ सकेका छन्।  अब  जनताले दलाल, माफिया , भ्रष्ट र राष्ट्रघातिहरलाई छोड्ने वाला छैनन्। 

 

९. साउन १५  गते महाकालीमा तुइनबाट खसेर जयसिंह धामी बेपत्ता भए, त्यसलगतै तपाईहरूले भारतका सुरक्षा बल एसएसपीको हात छ भन्दै आन्दोलन गर्नु भयो । तर अहिलेसम्म सरकार गुपचुप जस्तै छ । तपाई यो विषयमा सरकारलाई के भन्नु हुन्छ ?

 

दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट खलङ्गा आउँदै गर्दा माहाकाली तर्ने क्रममा भारतीय सुरक्षा बल एसएसपीले तुईन  काट्दा नेपाली नागरिक जयसिंह धामी बेपत्ता भएका थिए । तर सरकारले अहिले सम्म धामीको अवस्थाबारे कुनै पनि कुरा सार्वजनिक गर्न सकेको छैन् । यो विषयमा नेपाल सरकार गम्भिर देखिदैन् ।

 

उल्टै सत्य, तथ्य, बाहिर नआउदा सम्म  मिडियाबाट धामीको विषयमा कुनै पनि सुचना सम्प्रेषण नगर्नु भन्दै गृहमन्त्रालयले विज्ञप्ति जारी गर्यो। यो अवस्थामा सरकारलाई कुनै चासो चिन्ता नै छैन् । तर कसरी भारतको पाउमा लम्पसार परेर सत्ता जोगाउने भन्ने विषयमा उसलाई चिन्ता छ । यो भन्दा लाज मर्दो कुरा अरू के हुन्छ ?

 

शेरबहादुर देउवा नेतृत्वको सरकारले जुन खालको काम गरेको छ त्यो वास्तवमा सरकारको असली रूप उधाङ्गो गरेको हो । यसले स्पष्ट हुन्छ अब देउवा सरकार धेरै दिन टिक्दैन् । 

 

यो सरकारले  नेपाली जनताको सुरक्षा दिन सक्छ ? नेपाली जनताको निमित्त काम गर्छ ? स्वाधिन्ताको लागि काम गर्छ ? यस्ता हरेक सरकारका गतिविधिले कुनै पनि काम गर्न सक्दैन भन्ने पुष्टि हुन्छ । 

 

जयसिंह धामी त एउटा प्रतिनिधि घटना मात्र हुन् । त्यस्ता लाखौं, हजारौं जयसिंह धामीको अवस्था विकराल छ । यो भन्दा अगाडि गोविन्द गौतमको हत्या भयो । यस्ता धेरै नेपाली दाजु भाइ, दिदि बहिनीलाई भारतले हत्या गरेको छ  ।

 

आज भारतका विस्तारवादीहरूले सीमामा बाध बाध्ने काम गरेका छन् । यसले गर्दा नेपाली भू-भाग डुबानमा पर्छ । सीमानामा बस्ने नेपाली चेलीहरूअसुरक्षित छन् । त्यसैले अब सरकारले राष्ट्रको स्वाधिन्ताका निमित्त भारतीय सीमानाकामा पर्खाल लगाउनु पर्छ  ।