काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहीबारबाट सुरु भएको बैठक शुक्रबार ११ बजे पुनः बस्न लागेको हो।

 

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आजको बैठकमा पनि केन्द्रीय सदस्यले आ–आफ्नो धारण राख्ने छन् । केन्द्रीय सदस्यले दिएको सुझावलाई समेटेर बैठकले महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने शर्माको भनाइ छ ।

 

काँग्रेसले १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको छ । यद्यपि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन अन्तर्गतका स्थानीय तह र जिल्ला अधिवेशन भने प्रभावित भइसकेका छन् ।

 

तर महाधिवेशन सार्ने विषयमा सहमति भएपछि कहिले सार्ने भन्नेमा काँग्रेसभित्र मतभेद छ । संस्थापन पक्ष भदौमै वडा अधिवेशन गरेर महाधिवेशनका लागि केही समय लिने पक्षमा देखिएको छ। छठपछि महाधिवेशन भए आफ्ना लागि अनुकूल हुने संस्थापन पक्षको बुझाइ छ।

 

हिजोको बैठकमा पार्टीको क्रियाशील सदस्यता सम्बन्धमा छलफल केन्द्रित भएको थियो । बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदनको व्याख्यासहित प्रस्तुत गरेका थिए ।