सार्क मुलुकमध्ये नेपालमा उच्च सङ्क्रमण

काठमाडौँ। सिमाना जोडिएको छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय सङ्क्रमणको दर बढ्दो रहेको छ । अझ कोभिडका कारण मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आउन सकेको छैन ।

 

 

कोरोना भाइरसको पहिलो र दोस्रो लहर चलेको समयमा अघिल्ला वर्षहरूमा भारतबाट आवत–जावतका क्रम तीव्र हुँदा मात्र नेपालमा सङ्क्रमणको दरमा बढोत्तरी भएको थियो ।

 

 

तेस्रो लहरको सुरुवाती चरणमा भारतबाट त्यसरी आवतजावत भएको छैन । तर पनि नेपालमा भारत लगायत दक्षिण एसियाली मुलुकमध्येकै सङ्क्रमणको दर बढ्दो क्रममा रहेको छ ।

 

 

चार दिनअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको सार्क स्तरीय कोभिड विवरणमा छिमेकी मुलुक भारतमा कोभिडको मृत्युदर १.३ प्रतिशत र सक्रिय सङ्क्रमणको दर १.३ प्रतिशत रहेको छ ।

 

 

सो अवधिमा नेपालको मृत्युदर १.४ र सङ्क्रमणको दर दोब्बरले बढेको अवस्थामा ४.९ प्रतिशत रहेको थियो ।

 

 

चार दिन अघि र पछिको विवरणअनुसार अन्य सार्क मुलुकहरूमध्ये अधिकांश मुलुकको सङ्क्रमण र मृत्युदर बढ्दो क्रमबाट घट्दो क्रममा गएको देखिन्छ ।

 

 

नेपालमा भने चार दिनपछि अर्थात् अगस्ट ११ देखि थप बढोत्तरीतर्फ उन्मुख रहेको छ । जसअनुसार सीमा जोडिएको भारतको मृत्युदर १.३ र सङ्क्रमणको दर घटेर १.२ पुगेको छ । नेपालमा भने मृत्युदर १.४ नै रहे पनि सङ्क्रमणको दर बढेर ५.२ प्रतिशत पुगिसकेको छ ।

 

 

अगस्त ७ मा अफगानिस्तानको मृत्युदर ४.६ र सक्रिय सङ्क्रमणको दर २७.४, बङ्गलदेशको मृत्युदर १.७ र सक्रिय सङ्क्रमण दर ११.१, भुटान मृत्युदर ०.१ र सक्रिय सङ्क्रमण दर ४.७, माल्दिभ्समा मृत्युदर शून्य र सक्रिय सङ्क्रमणको दर ९०.३, पाकिस्तानमा मृत्युदर २.२ र सक्रिय सङ्क्रमणको दर ७.५ तथा श्रीलङ्कामा मृत्युदर १.५ र सक्रिय सङ्क्रमणको दर ९.६ प्रतिशत रहेको थियो ।

 

 

चार दिनपछि अगस्ट ११ को विवरणअनुसार अफगानिस्तानमा मृत्युदर ४.६ नै कायम रहे पनि सक्रिय सङ्क्रमणको दर घटेर २६.६ प्रतिशतमा झरेको छ । त्यस्तै बङ्गलादेशमा पनि मृत्यु दर उही तर सक्रिय सङ्क्रमण दुई प्रतिशतले घटेको छ।

 

 

त्यस्तैगरी भुटानमा मृत्युदर उही र सक्रिय सङ्क्रमणको दर आधा घटेर २.३ प्रतिशतमा झरेको छ । सार्क मुलुकमध्ये सबैभन्दा बढी सङ्क्रमणको दर रहेको माल्दिभ्समा चार दिनको अवधिमा मृत्युदर ०.३ पुगे पनि सङ्क्रमणको दर अत्यधिक कटौती हुँदै ३.४ प्रतिशत कायम हुन पुगेको छ ।

 

 

 

पाकिस्तानमा भने मृत्युदर उही रहे पनि सङ्क्रमणको दर एक प्रतिशतलेमात्र बढेको छ ।श्रीलङ्कामा पनि सोही अनुपातले सङ्क्रमणको दर एक प्रतिशले मात्र बढेको देखिन्छ ।

 

 

 

मानिस अनुशासित नहुँदा बढ्यो सार्क मुलुकमध्ये नेपालमा सबैभन्दा बढी ओहोरदोहोर हुने भारतलगायत अन्य सार्क मुलुकमा डेल्टा भेरियन्टले पनि सङ्क्रमण बढाउन नसक्नुमा त्यहाँको कडा अनुशासन कारक रहेको चिकित्साविज्ञहरू बताउनुहुन्छ ।

 

 

 

नेपालमा भने त्यो अनुशासन लौरो लगाएर घरमै थुन्नुपर्ने अवस्थाको रहेको जिकिर उहाँहरू गर्नुहुन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार भारतमा जनसङ्ख्या धेरै भए पनि सबै परीक्षणको पहुँचमा पुगेको अवस्थामा छ ।

गोरखापत्र दैनिकमा खबर छ।