अफगानिस्तानमा अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीबारे अध्ययन गर्न सरकारले बनायो संयन्त्र

 

काठमाडौं । सरकारले अफगानिस्तानमा अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीबारे अध्ययन गर्न हरिशचन्द्र घिमिरेको नेतृत्वमा संयन्त्र बनाएको छ । आइतबार बिहान मात्र मुख्यसचिवको नेतृत्वमा बसेको बैठकले परराष्ट्रका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा संयन्त्र बनाएको हो ।

 

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकमा परराष्ट्र सचिव भरत पौडेलले अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीहरुलाई सम्पर्कमा आउन सूचना जारी गर्ने तयारी भइरहेको बताए ।

 

अफगानिस्तानमा अनौपचारिक क्षेत्रमा कति नेपाली कार्यरत छन् भन्ने एकिन तथ्यांक भने सरकारले नभएको बताउदै आएको छ । औपचारिक क्षेत्रमा कार्यरत करीब १५ सय नेपालीलाई भने अरु कर्मचारीहरुसँगै सुरक्षित स्थानमा लैजान सम्बन्धित संस्थालाई आग्रह गरिएको परराष्ट्र मन्त्रालयका सचिव पौडेलले बताए।

 

औपचारिक क्षेत्रमा कार्यरत नेपालीहरुको उद्धारका लागि भने नेपालस्थित कूटनीतिक नियोगहरुसँग पनि कुराकानी भइरहेको उनले बताए ।