उपत्यकामा फोहोर उठाउन अझै केही दिन लाग्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले फोहोर उठाउन अझै केही दिन लाग्ने बताएको छ। महानगरको कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै फोहोर उठाउन केही दिन लाग्ने भएकाले घरबाट बाहिर ननिकाल्न अपिल गरेको हो ।

 

‘ल्याण्डफिल्ड साइटको सडक केही दिनदेखि परेको अविरल वर्षाका कारणले बिग्रिन गई फोहोर विसर्जन गर्न नसकिएकोले केही समयका लागि फोहोर ननिकाली दिनुहुन अपिल गर्दछौं,’ महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

 

काठमाडौं उपत्यकाको फोहोरमैलाको नुवाकोटको ककनी गाउँपालिका-२ स्थित सिस्डोलमा रहेको ल्याण्डफिल्ड साइटमा अन्तिम विसर्जन गरिन्छ । तर अहिले ल्याण्डफिल्ड साइट जाने सडक बिग्रेको छ ।

 

 लगभग दुई-तीन हप्तादेखि उपत्यकामा फोहोर विसर्जन भएको छैन । त्यसैले सडकका छेउ-कुनामा फोहोर थुप्रिन सुरू भएको छ । तर सडक मर्मत गरेपछि मात्र फोहोर लिन घरदैलोमा आउने महानगरले बताएको छ।

 

फोहोर विसर्जन गर्ने अर्को विकल्प नभएकोले सिस्डलमा समस्या हुँदा काठमाडौं बेलाबेलामा दुर्गन्धित बन्ने गरेको छ ।