एमाले फुटाएर माधव नेपालले ठूलो गल्ती गर्नुभयो : युवराज ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक युवराज ज्ञवालीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले फुटाएर ठूलो गल्ती गरेको बताए । सुर्खेतमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले पार्टी फुटाएर ठूलो गल्ती गरेको भन्दै नेपालले कुनै दिन गल्तीको महसुस गर्ने दाबी गरे ।

 

संयोजक ज्ञवालीले माधव नेपालाई प्रश्न गरे, ‘एमालेको एजेण्डा र विचार लिएर उहाँ कहाँ पुग्नु हुन्छ ? हिजोको गल्तीको कारण बनाएर आज पार्टी विभाजन गर्न मिल्छ ?’

 

माधव नेपालसहितको एकताको प्रयास गरेपनि असफल भएकोे संयोजक ज्ञवालीले बताए । पार्टी एकताका लागि अन्तिम चरणसम्म प्रयास गरे पनि माधव नेपाल कुनै पनि हालतमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग जोडिएर बस्न नसक्ने निर्णयमा पुगेपछि आफूहरुले नेपालको साथ छोडेर १० बुँदे कार्यान्वयनमा लागेको बताए ।

 

 

विगतमा नेपाल निकट मानिएका नेता ज्ञवालीले आफूहरुले एक महिनासम्म पार्टी फुटाउनु हुन्न अन्तर संघर्ष गरौं भनेर सम्झाउँदा पनि नमानेपछि साथ छोड्नु परेको बताए ।