भोलिबाट उपत्यकाको फोहोर उठाउने महानगरको निर्णय

 

काठमाडौँ । एक महिनादेखि काठमाडौ उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलिबाट उठ्ने भएको छ । मंगलबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायको बैठकले बुधबार बिहान ६ बजेबाट उठाउने निर्णय गरेको हो।

 

 

 

लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदूषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेको मेयर शाक्यले बताए । उनले फोहोर व्यवस्थापनका लागि विभिन्न निकायसँग निरन्तर छलफल गरिरहेको पनि जानकारी दिए।

 

 

‘सिसडोलमा फोहोर व्यवस्थापनको काम २०६२ सालदेखि हुँदै आएको छ। त्यसको सबै जिम्मेवारी शहरी विकास मन्त्रालयको हो। काठमाडौं महानगरपालिकाको जिम्मेवारी भनेको त्यहाँ लगेर फोहोर व्यवस्थापन गर्ने मात्रै हो,’ शाक्यले भने, ‘अहिले पनि हामीले प्रधानमन्त्री र विभिन्न निकायसँग फाहोर व्यवस्थापनका लागि सहयोगको अपील गर्दै आएका छौँ ।’

 

 

शाक्यले स्थानीयहरुलाई कुनै पनि असर नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरी निरन्तर लागेको जानकारी दिए।