फर्ममा पसेर चितुवाले १५० कालिज मार्‍यो

काठमाडौँ । डोटी जिल्लाको केआइसिंह गाउँपालिका–६ भूमिराजमाण्डौैँस्थित ‘कालिज बहुउद्देश्यीय फर्म’मा चितुवा पसेर कालिज मारिदिएको छ । सोही वडाका कर्ण बोहराले व्यावसायिक रुपमा कालिजपालन गरेका थिए । सोमबार राति पसेको चितुवाले १५० कालिज मारेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी दिए ।

 

 

जङ्गलबाट राति फर्ममा पसेको उक्त चितुवाले कालिज मार्न थालेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । फर्मभित्र पसेको चितुवालाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा बिहान धपाइएको थियो । बिक्रीका लागि तयारी अवस्थामा रहेका कालिज चितुवाले मारेपछि करिव रु पाँच लाख २५ हजार नोक्सानी भएको सञ्चालक कर्ण बोहराले जानकारी दिए​ । प्रतिकालिजको मूल्य रु तीन हजार ५०० देखि रु पाँच हजारसम्म रहेको जनाइएको छ ।

 

 

सुदूरपश्चिम प्रदेश सरकारले पनि आर्थिक सहयोग गर्न थालेपछि यहाँका युवा कालिजपालनमा आकर्षित भएका हुँदै गएका छन् । बोगटान फुड्सिलका देवबहादुर बोहराले पहिलो पटक कालिजपालन सुरुआत गरेका थिए ।