महिनावारी : समाजले हेर्ने दृष्टिकोण

– जयन्ती बडुवाल

महिनावारी निश्चित उमेर पुगेका परिपक्क महिलाहरूमा हुने प्राकृतिक प्रक्रिया हो । करिब १३-१४ वर्षको किशोरावस्थालाई महिलाहरू महिनावारी हुने समय  मानिन्छ । महिलाको यौनाङ्गबाट  रक्तश्राव हुनुलाई रजस्वला हुनु, महिनावारी हुनु  र छाउ हुनु  भनिन्छ ।

 

 

 

महिनावारी एक महिनाको अन्तरमा हुन्छ भने ४-५ दिनसम्म रक्तश्राव हुन्छ । यो समय महिलाहरूको लागि आराम गर्ने समय पनि हो । महिनावारीको समयमा तल्लो पेट दुख्ने, ढाड दुख्ने जस्ता सामान्य समस्याहरू देखापर्छ । तर यो समस्या सबै महिलाहरूमा लागू नहुन पनि सक्छ । 

 

 

 के महिनावारी हुन गलत हो ? के यो अपराध हो ? होइन । तर महिलाहरू आफू  महिनावारी भएको कुरा  खुलेर  भन्न हिचकिचाउ छन् । वास्तवमा भन्ने हो भने  यो सबै हामीले महिनावारीलाई एउटा प्रथाको रूपमा बुझ्नुको नतिजा हो । 

 

 

महिला महिनावारी हुने भएकाले विभिन्न देश, समाज र संस्कृतिअनुसार फरक फरक मानसिकता बनाउने चलन  परम्परादेखि नै चल्दै आएको छ । यसलाईं धार्मिक, सामाजिक र सांस्कृतिक रूपमा अछुतको रूपमा लिने गरिन्छ । यो एउटा महिलामा हुने प्रकृतिक प्रक्रिया भएपनि अन्धविश्वासको आधारमा विभेद गरेको पाइन्छ ।

 

 

 

यो संसारका सबै महिलाहरूमा हुने सामान्य प्रक्रिया हो ।  मनिसहरूले आफ्नो  मानसिकतामा नकारात्मक सोचको निर्माण गरेर छुवाछुत गर्ने चलन व्यापक छ। तर यो प्रथाले नेपाली समाजमा कुसंस्कारको रूपमा राज गरेर बसेको छ ।  विशेष गरेर कर्णाली र सुदुरप्रश्चिमका मानिसहरू यो अन्धविश्वासको भूमरीमा फसेका छन् । छाउपडीलाई घरदेखि टाढा अलग्गै बसोवास गराउनु पर्छ भन्ने त्यहाँ का मानिसहरूको अन्धविश्वासका  छ । हुन त सहरी क्षेत्रमा पनि यो अन्धविश्वास नभएको भने होइन । तर तुलनात्मक रूपमा केही कम छ । 

 

 

 छाउपडी बस्ने ठाउँलाई छाउगोठ भनिन्छ । यकदम सानो आकारमा  बनेको  यो गोठलाई महिनावरी भएका महिला बाहेक कसैले पनि छुनु हुदैन भन्ने मान्यता छ । प्रायः छाउगोठ जीर्ण, साँघुरो, अध्यारो, ओसिलो र असुरक्षित हुन्छ किनकि यो अस्थायी प्रकृतिको र घरबाट टाढा हुन्छ । जङ्गली तथा पाल्तु जनावर, सर्प, किरा सहजै भित्र छिर्न सक्ने हुन्छन् । यस्ता हरेक किसिमका वस्तुहरूको शिकार महिलाहरू हुनु परेको छ ।

 

 

 

महिलामाथिको अछुतकै कारणले धैरै महिला दिदी-बहिनीहरूले अकालमै ज्यान गुमाउनु परेको छ । सर्पले टोकेर कति महिलाहरूले छाउगोठमा मृत्युवरण गरेका छन् । त्यस्तै कति महिलाहरू छाउगोठ मै बलत्कारको शिकार हुनु परेको छ । उनीहरूको इज्जत लुटिएको छ  । आज त्यसैका कारण समाज सकारात्मक भन्दा पनि नकारात्मक क्षेत्रमा बढि केन्द्रित भएको हो कि भन्ने प्रश्न समना गर्नु पर्ने अवस्था आएको छ ।

 

 

 

छाउगोठमै निसास्सिएर कति महिलाहरूले ज्यान गुमाउनु परेको छ । तर यसमा कसैको ध्यान पुग्न सकेको छैन् । सरकारले छाउपडि गोठ भत्काएर मात्र महिलाहरूले राहत पाउने छैनन् । उनीहरूको मानसिकतालाई परिवर्तन गर्न आवश्यक छ  । अनि मात्रै यो प्रथाको  अन्त्य हुने सक्छ । छाउ शब्दले  मनिसको मस्तिष्कमा जरो गाढेर बसेको छ । त्यसलाई हटाउन मानिस  मानसिक रूपमा  परिवर्तन हुन जरूरी हुन्छ ।  

 

 

 

महिनावारी एउटा प्राकृतिक प्रकिया हो भन्ने कुरा सबैले बुझ्न आवश्यक छ । प्रचारको माध्यमबाट गाउँ या शहरमा जनचेतनामुलक कार्यक्रम प्रकाशन-प्रसारण गरेर यसलाई केही हदसम्म नियन्त्रण गर्न सकिन्छ । यति मात्र होइन यो सामान्य प्रक्रिया हो भन्ने कुरा महिला सोयमले पनि बुझ्न पर्छ ।

 

 

 

गाउँ भन्दा पनि शहरमा यो प्रथाको अन्त्य नभएकाले पनि यो अझै जटिल भनेको छ । अहिलेका शिक्षित नारीहरू नै महिनावारीलाई अछुतको रूपमा लिने गरेको पाइन्छ । यो प्रथालाई छाउगोठ भत्काएर होइन मानसपटलमा विकास भएको नकारात्मक सोचलाई  हटाए मात्र महिनावारी बार्ने चलनको अन्त्य हुन्छ ।  

 

 

 

तथापि,  महिलाहरू महिनावारी भएको समयमा कैदीको जस्तो कष्टकर जीवन बिताउन विवश छन् । उनीहरूले अपराधीको  जस्तो जीवन जिउनु परेको छ । के महिनावारी हुन गलत हो ? के यो अपराध हो ? होइन । तर महिलाहरू आफू  महिनावारी भएको कुरा  खुलेर  भन्न हिचकिचाउछन् । वास्तवमा भन्ने हो भने  यो सबै हामीले महिनावारीलाई एउटा प्रथाको रूपमा बुझ्नुको नतिजा हो ।