मोडल तथा कलाकार निशा घिमिरेको नर्भिक अस्पतालमा निधन

काठमाडौं। मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । नर्भिक अस्पतालमा उपचाररत घिमिरेको बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको हो । 

 

 

 

अस्पतालद्वारा जारी विज्ञप्तिमा सबै प्रयासका बाबजुद पनि निशाको ज्यान जोगिन नसकेको उल्लेख छ ।

 

 

अस्पतालको आईसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

 

 

भारतमा सडक दुर्घटनामा परेर घाइते भएकी निशा लामो समयदेखि घरमै थला परेको अवस्थामा अस्पतालले गत जेठ २७ गते उद्धार गरेको थियो । अस्पतालले उनको निःशुल्क उपचार गरिरहेको थियो ।

 

 

हिजो मात्रै पत्रकार सम्मेलन गरी अस्पतालले उनको स्वास्थ्यमा अपेक्षित सुधार आउन नसकेको जानकारी दिएका थियो ।

 

 

 

घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि उनको अवस्था गम्भीर बनेको बताइएको छ ।