बाँके प्रहरीले बरामद गरेको ४ किलो सुन नेपालगन्जका व्यापारीको,कसरी छिर्‍यो विमानस्थलबाट सुन ?

काठमाडौं ।शुक्रबार दिउँसो बाँके प्रहरीले नेपालगन्ज विमानस्थलबाट चार किलो २१.४९ ग्राम सुनसहित दुई जनालाई पक्राउ गर्‍यो । सुनसहित पक्राउ पर्नेहरू काठमाडौंबाट श्री एयरलाइन्सको जहाजमा नेपालगन्ज गएका थिए ।

 

 

 

बाँके प्रहरीका अनुसार उक्त सुन झापा खुदुनाबारीका २६ वर्षीय लगुन विश्वकर्मा र मोरङ लेटाङका २८ बुद्धिमान खातीले जुत्ताको तलुवामा राखेर नेपालगन्ज पुर्‍याएका हुन् ।

 

 

बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले पक्राउ पर्नेहरू सुन बोक्ने भरिया भएको बताए ।

 

 

उक्त सुन नेपालगन्जका व्यापारीको हो, तीन जना व्यापारीको नाममा बिल काटिएको छ’ अधिकारीले भने, ‘बिल पनि संकास्पत छ ।

 

 

व्यापारीको नाम भने उनले खुलाउन चाहेनन् । ‘थप सोधपुछ गरेर सुनसहित उनीहरूलाई राजश्व अनुसन्धान कार्यालयमा बुझाउँछौ’ अधिकारीले भने,‘आवश्यक अनुसन्धान र कारवाही राजश्व अनुसन्धानले नै गर्छ।

 

 

५ मिनेट पहिले मात्र पुगेको थियो सूचना

 

श्री एयरलाइन्सको जहाजमा दुई जनाले सुन ल्याएर नेपालगन्ज आउँदैछन् भन्ने सूचना प्रहरीलाई जहाज अवतरण हुनुभन्दा करिब पाँच मिनेट अघिमात्रै पुगेको थियो ।

 

 

प्रहरी उपरीक्षक अधिकारीले काठमाडौंबाट आएको विशेष सूचनाका आधारमा उक्त सुन बरामद गरेको बताए ।

 

 

‘दुई जना युवा सुन ल्याएर जहाजमा आउँदैछन् भन्ने सूचना आएपछि सबै यात्रुलाई निगरानीमा राखियो’ अधिकारीले भने, ‘जुत्तामा सुनको बिस्कुट राखेकाहरूलाई हिँडडुल गर्नै अफ्ठेरो भएजस्तो देखिएपछि खानतलासी गर्दा सुन भेटिएको हो ।

 

 

प्रहरीका अनुसार लगुनले लगाएको दुबै जुत्ताको तलुवामा २र२ बिस्कुट र बुद्धिमानले लगाएको जुत्ताको तलुवामा १र१ बिस्कुट गरी ६ थान बिस्कुट भेटिएको हो ।

 

 

जुत्ताको तलुवामा लुकाएको उक्त सुन ३ किलो ९९४ ग्राम र बुद्धिमानले बोकेको झोलामा तिलहरी थान १, वाला थान १, गणेश लकेट ५ थानको (तौल २७.४९ ग्राम) गरी जम्मा ४ किलो २१.४९ ग्राम सुन भेटिएको बाँके प्रहरीले जनाएको छ।

 

कसरी छिर्‍यो विमानस्थलबाट सुन ?

 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै छिरेको चार किलो बढी सुन नेपालगन्जमा समातिएपछि विमानस्थलको सुरक्षा व्यवस्थामाथि फेरि प्रश्न उठेको छ ।

 

 

अवैध सुन तस्करीका थुप्रै घटनामा प्रश्न चिन्ह खडा हुने विमानस्थलको सुरक्षा व्यवस्थामाथि यस पटकको सुन काण्डले पनि प्रश्न उब्जाएको छ ।

 

 

कडा चेकजाँच हुने विमानस्थलबाट सहजै सुन नेपालगन्ज पुग्नुले कतै सुरक्षाकर्मीकै मिलेमतो होकी भन्ने पनि आशंका उब्जिएको छ ।

 

 

 

त्रिभुवक विमानस्थल सुरक्षा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले विमानस्थल भएर नेपालगन्ज सुन पुगेको घटनाबारे अनुसन्धान भइरहेको बताए ।

 

 

‘विमानस्थलबाट नै कसरी सुन छिर्‍यो हामी अनुसन्धान गर्दैछौँ’, बास्तोलाले भने, ‘अनुसन्धान नगरेरै केही भन्न सकिदैन ।

 

 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि पालले विमानस्थलबाट सुन छिरेर नेपालगन्ज भेटिएको घटनाबारे आफूले समाचार पढेर थाहापाएको बताए । उनले त्यसबारे आफूले बुझ्ने प्रतिक्रिया दिए ।

न्युज कारखाना